जनकपुरधाम, २८ जेठ । वर्षायाम सुरु भएसँगै जनकपुरधाम उपमहानगरपालिका–३ मा जलनिकास र सडकको समस्याले विकराल रूप लिन थालेपछि स्थानीय बासिन्दाले वडाकार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार परेको करिब एक घण्टाको वर्षापछि वडाका अधिकांश सडक जलमग्न बनेका थिए भने घर तथा पसलमा पानी पस्दा स्थानीयले क्षति व्यहोर्नुपरेको बताएका छन् ।

विगत लामो समयदेखि सडक, नाला तथा सरसफाइ व्यवस्थापनमा बेवास्ता भएको आरोप लगाउँदै स्थानीय युवाहरूले वडाकार्यालयमा तालाबन्दी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका हुन् ।

स्थानीय युवा प्रेम साह, कृष्णा साह, सुनिल दास, लक्ष्मण साह, सन्दीप साह र राहुल कर्णलगायतले वडा कार्यालयअघि प्रदर्शन गर्दै दुई कार्यकालदेखि निर्वाचित नेतृत्वले आधारभूत पूर्वाधार निर्माणमा ध्यान नदिएको आरोप लगाए ।

उनीहरूले सामान्य वर्षामै यस्तो अवस्था देखिएको भन्दै आगामी साउन भदौमा स्थानीयवासीले झन् ठूलो समस्या भोग्नुपर्ने चिन्ता व्यक्त गरे ।

प्रदर्शनकारीहरूले वडामा वर्षौंदेखि सडक तथा नालाको उचित व्यवस्थापन हुन नसकेको, नियमित सरसफाइ नहुने र फोहर व्यवस्थापनसमेत प्रभावकारी नभएको गुनासो गरे ।

उनीहरूले वडाभित्र रहेको ऐतिहासिक देवान पोखरीको अवस्था पनि वर्षौंदेखि दयनीय रहेको बताए ।

स्थानीयका अनुसार विश्वप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जानकी मन्दिर नजिकै रहेको वडा नम्बर-३ को अस्तव्यस्त अवस्थाले जनकपुरधामको छविमा समेत नकारात्मक असर पारिरहेको छ ।

यता, वडाध्यक्ष दिपेन्द्र साहले स्थानीयको गुनासोलाई स्वाभाविक भएको स्वीकार गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताए ।

उनले विगतमा बजेट अभाव, प्राविधिक प्रक्रिया र विभिन्न प्रशासनिक कारणले केही योजनाहरू समयमै सम्पन्न हुन नसकेको बताए ।

‘जलनिकास व्यवस्थापनका लागि केही योजना सञ्चालनमा छन् । मुख्य नाला निर्माण तथा सडक स्तरोन्नतिको काम आगामी बजेटमा प्राथमिकताका साथ अघि बढाइनेछ,’अध्यक्ष साहले भने,’स्थानीयले उठाएका विषयप्रति हामी गम्भीर छौं र सम्बन्धित निकायसँग समन्वय गरेर समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको छ ।’

स्थानीयवासी भने पटकपटक आश्वासन मात्रै पाएको भन्दै अब काम देखिनुपर्ने मागमा अडिग छन् ।

उनीहरूले जनप्रतिनिधि तथा सम्बन्धित निकायले शीघ्र समस्या समाधान नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।