एक घण्टाको वर्षामै जलमग्न जनकपुरधाम

जनकपुरधाम, २८ जेठ । बिहीबार बिहान करिब एक घण्टासम्म परेको मुसलधारे वर्षापछि जनकपुरधामका विभिन्न सरकारी कार्यालय तथा सर्वसाधारणका घरहरू डुबानमा परेका छन् ।
पानी निकासको कमजोर व्यवस्थापनका कारण शहरका धेरै स्थान जलमग्न बनेका हुन् ।
लगातारको वर्षापछि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला हुलाक कार्यालय, डिभिजन वन कार्यालय, राष्ट्रिय समाचार समिति (रासस) मधेश प्रदेश कार्यालय तथा प्रादेशिक अस्पताल परिसरमा करिब एक फिटसम्म पानी जमेको स्थानीयले बताएका छन् ।
रासस मधेश प्रदेश कार्यालयभित्र समेत पानी पसेर कार्यालय कक्षमा करिब एक फिट पानी जमेको कार्यालय सहयोगी सूर्यप्रसाद बरालले जानकारी दिए । उनका अनुसार वर्षापछि कार्यालय सञ्चालनमै समस्या उत्पन्न भएको थियो ।
वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १, २, ४, ७, ८, १० र ११ का दर्जनौँ घर तथा आँगनमा पानी जमेको छ । कतिपय बासिन्दा घरभित्रै थुनिन बाध्य भएका छन् भने सडकहरू समेत जलमग्न बनेका छन् ।
वडा नम्बर ११ का स्थानीय प्रफुल्लराज घिमिरेले एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्माण गरिएको ढल प्रणाली प्रभावकारी हुन नसकेको आरोप लगाए । उनका अनुसार ढलका पाइपको आकार र क्षमता पर्याप्त नभएकाले सामान्य वर्षामै पानी निकास हुन नसकेको हो ।
‘एक घण्टाको वर्षाले नै यस्तो अवस्था बनायो भने लगातार केही घण्टा पानी परे जनकपुरधामको अवस्था के होला?’ भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनले पुराना खुला नाला हुँदा पानी सहज रूपमा बग्ने गरेको स्मरण गर्दै हालको ढल प्रणालीले अपेक्षित परिणाम दिन नसकेको बताए ।
मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवन परिसरमा समेत पानी जमेको छ ।
स्थानीयवासीका अनुसार शहर वरपर रहेका नदी, पोखरी तथा पुराना प्राकृतिक निकास मार्ग अतिक्रमणको चपेटामा परेकाले वर्षेनी जनकपुरधाममा डुबानको समस्या दोहोरिने गरेको छ ।
स्थानीयहरूले दीर्घकालीन समाधानका लागि पानी निकास प्रणालीको पुनः मूल्याङ्कन, अतिक्रमित नाला तथा प्राकृतिक बहाव मार्गको संरक्षण र प्रभावकारी शहरी पूर्वाधार निर्माणमा ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

