जनकपुरधाम, २८ जेठ । मधेश प्रदेश सभा सचिवालयद्वारा आयोजित चार दिवसीय नमूना युवा संसदीय अभ्यास कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

लोकतन्त्र, संसदीय प्रक्रिया, नीति निर्माण तथा नेतृत्व विकासबारे युवालाई व्यावहारिक ज्ञान दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा प्रदेशका ११ शैक्षिक संस्थाका ५० जना छात्रछात्राको सहभागिता रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले युवाहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरेर त्यसको प्राप्तिका लागि निरन्तर मेहनत गर्न आग्रह गरे ।

उनले जीवनमा सफलता हासिल गर्न लक्ष्य निर्धारण पहिलो शर्त भएको उल्लेख गर्दै त्यसअनुसार योजना निर्माण र नियमित अभ्यास आवश्यक रहेको बताए ।

सभामुख यादवले युवाले आफ्नो उद्देश्यप्रति समर्पित भएर काम गर्नुपर्ने तथा गलत संगतबाट टाढा रहँदै सकारात्मक सोच र अनुशासनलाई जीवनको आधार बनाउनुपर्ने धारणा राखे ।

लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सक्षम, जिम्मेवार र सचेत युवा पुस्ताको आवश्यकता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा उपसभामुख बबिता कुमारी राउत इशरले संसदीय अभ्यासले युवामा नेतृत्व क्षमता, तार्किक सोच, बहस तथा निर्णय प्रक्रियामा सहभागिताको सीप विकास गर्ने बताइन् ।

उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतार्न युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन् ।

श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले युवा पुस्तालाई शैक्षिक ज्ञानमा मात्र सीमित नरही सामाजिक तथा राजनीतिक चेतनासँग जोडिन आग्रह गरिन् ।

यस्ता अभ्यास कार्यक्रमले युवालाई नेतृत्वका लागि तयार पार्नुका साथै जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उनको भनाइ थियो ।

महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपा यादवले लोकतान्त्रिक संस्थाहरूको प्रभावकारी सञ्चालनका लागि युवाको सहभागिता बढाउन आवश्यक रहेको बताइन् ।

उनले नीति निर्माण र सार्वजनिक सरोकारका विषयमा युवाले आफ्नो धारणा सशक्त रूपमा प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

मधेश प्रदेश सभा सचिवालयका अनुसार युवाहरूलाई संसदीय प्रणाली, विधेयक निर्माण प्रक्रिया, छलफल, बहस तथा निर्णय प्रक्रियाबारे व्यवहारिक अनुभव दिलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले सांसद, सभामुख तथा मन्त्रीको भूमिका निर्वाह गर्दै संसदीय अभ्यास गरेका थिए ।

चार दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रमले सहभागी युवाहरूमा वक्तृत्वकला, नेतृत्व विकास, नीति विश्लेषण क्षमता तथा लोकतान्त्रिक अभ्यासप्रतिको बुझाइ अभिवृद्धि गरेको प्रशिक्षक अधिवक्ता रक्की प्रसाद साहले बताए ।