जनकपुरधाम, २८ जेठ । नेकपा एमालेका नेता शिवशंकर साह हिराले आफूमाथि लगाइएका आरोप राजनीतिक षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन् ।

बालिका अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीजस्ता गम्भीर आरोपमा लामो समयदेखि मुद्दा खेपिरहेका हिराले जिल्ला अदालत धनुषाबाट सफाइ पाएपछि बिहीबार पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् ।

हिराले अदालतको फैसलाले आफू निर्दोष रहेको पुष्टि गरेको भन्दै न्यायपालिकाप्रति सम्मान व्यक्त गरे । उनले अदालतले तथ्य, प्रमाण, बयान तथा अनुसन्धानका आधारमा निर्णय गरेको उल्लेख गर्दै आफू सुरुदेखि नै निर्दोष रहेको बताउँदै आएका कारण अन्ततः सत्यको विजय भएको दाबी गरे ।

‘ममाथि लगाइएका आरोप अत्यन्त गम्भीर थिए । ती आरोपका कारण मेरो राजनीतिक जीवन, सामाजिक प्रतिष्ठा र पारिवारिक जीवनमा ठूलो असर परेको थियो,’हिराले भने, ‘तर, सम्मानित जिल्ला अदालतले सबै पक्षको अध्ययन गरी हामी सबैलाई सफाइ दिएको छ । यसले सत्यलाई स्थापित गरेको छ ।’

जिल्ला अदालत धनुषाले शिवशंकर साह हिरासहित अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह र रामबाबु झालाई आरोप पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्षसहित सफाइ दिएको थियो ।

घटनामा हिरा, ठाकुर र महासेठमाथि अपहरणको अभियोग लगाइएको थियो भने अन्य आरोपितमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिएको थियो ।

पत्रकार सम्मेलनमा हिराले घटनाक्रमका क्रममा आफूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने प्रयास भएको आरोप लगाए । यद्यपि उनले कसैविरुद्ध प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारे ।

‘मलाई फसाउन खोजियो, मेरो चरित्र हत्या गर्ने प्रयास भयो । तर, आज अदालतको निर्णयले सत्य के थियो भन्ने देखाएको छ,’उनले भने,’तर, म कसैसँग बदला लिने, प्रतिशोध साँध्ने वा व्यक्तिगत हिसाब किताब मिलाउने पक्षमा छैन । म कानुन र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने व्यक्ति हुँ ।’

उनले आफ्नो ऊर्जा अब जनताको सेवामा केन्द्रित गर्ने बताए । अदालतको फैसलापछि आफू अझ जिम्मेवार बनेको उल्लेख गर्दै राजनीतिक जीवनलाई थप सक्रिय बनाउने बताए ।

‘मलाई साथ दिने परिवार, शुभेच्छुक, पार्टीका नेता कार्यकर्ता र न्यायप्रति विश्वास राख्ने सम्पूर्ण नागरिकप्रति आभारी छु,’उनले भने, ‘यो कठिन समयबाट मैले धेरै कुरा सिकेको छु । अब मेरो ध्यान समाज र जनताको हितका लागि अझ समर्पित भएर काम गर्नेमा रहनेछ ।’

हिराले सार्वजनिक जीवनमा रहेका व्यक्तिमाथि आरोप लाग्दा समाजमा तत्काल धारणा बनाउने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । अदालतको अन्तिम निर्णय आउनुअघि नै सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट व्यक्तिको चरित्रमाथि आक्रमण हुने गरेको भन्दै उनले कानुनी प्रक्रियाको सम्मान गर्न सबैलाई आग्रह गरे ।

उनका अनुसार मुद्दाका क्रममा कथित पीडित बालिका तथा उनकी आमाले अदालतमा दिएको बयानले पनि अभियोगलाई पुष्टि नगरेको र अनुसन्धानबाट समेत आरोप स्थापित हुन नसकेको अवस्था अदालतको फैसलामा प्रतिबिम्बित भएको छ ।

हिराले अन्ततः कानुनी रूपमा सफाइ पाएको भन्दै अदालतको निर्णयको स्वागत गरे । २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदका लागि एमालेबाट उम्मेदवार बनेका हिरा एमालेका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

अदालतको फैसलापछि पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्दै हिराले आफूलाई परेको पीडालाई राजनीतिक र सामाजिक रूपमा सकारात्मक ऊर्जा बनाउने प्रयास गर्ने बताउँदै लोकतान्त्रिक मूल्य, न्यायिक प्रक्रिया र सामाजिक सद्भावलाई बलियो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

‘मलाई न्यायालयले न्याय दिएको छ,’उनले भने,’अब म विगतका तीतामिठा अनुभवलाई पछाडि छाडेर समाज र जनताको सेवामा अघि बढ्छु ।’