मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

जनकपुरधाम, २८ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि भएको विस्तृत छलफलपछि सभामुख रामअशिष यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको विपक्षमा कुनै आवाज नउठेपछि सभामुख यादवले नीति तथा कार्यक्रम सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
प्रदेश सरकारले जेठ १५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रतिपक्षी दलको अवरोधका कारण लामो समयसम्म छलफल प्रक्रियामा प्रवेश गर्न सकेको थिएन । पछि दलहरूबीच सहमति जुटेपछि कार्यक्रममाथि छलफल अगाडि बढाइएको थियो ।
कार्यक्रममाथि विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका भए पनि सत्तारूढ नेकपा एमालेका सांसद राजकुमार लेखीद्वारा प्रस्तुत संशोधन प्रस्ताव बाहेक अन्य सबै प्रस्ताव अस्वीकृत भएका छन् ।
नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री युवराज भट्टराईले आगामी बजेट निर्माणका लागि विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त सदनमा प्रस्तुत गरेका थिए । त्यसपछि सभामुखले प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।

