सिरहा, २८ जेठ । सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकाका भूमिहीन दलित परिवारलाई कृषि उत्पादन बढाउन र जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ ।

गाउँपालिका, दलित जनकल्याण युवा क्लब तथा मेनोनाइट सेन्ट्रल कमिटीको सहकार्यमा सञ्चालित ‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’ अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर उपलब्ध गराइएको हो ।

परियोजनाअन्तर्गत वितरण गरिएका हाते ट्याक्टर १२ समूहमा आबद्ध ३०४ किसान सदस्यले पालैपालो प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

करिब ८ लाख ४३ हजार रुपैयाँ बराबरको उक्त सहयोगमा हाते ट्याक्टरसँगै आवश्यक इञ्जिन तेल, गियर तेल तथा डिजेलसमेत प्रदान गरिएको दलित जनकल्याण युवा क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष उमेकुमार विसुन्केका अनुसार भूमिहीन दलित समुदायलाई कृषि उत्पादनमा जोड्दै आर्थिक रूपमा सबल बनाउने लक्ष्यसहित परियोजना सञ्चालन गरिएको हो ।

उनले कृषि यान्त्रिकीकरणले खेतीपातीलाई सहज बनाउने र उत्पादन लागत घटाउने विश्वास व्यक्त गरे ।

परियोजनाले भूमिहीन परिवारलाई लिजमा जग्गा उपलब्ध गराई अन्न तथा तरकारी खेती गर्न सहयोग गरिरहेको छ ।

यसका साथै आयआर्जनका वैकल्पिक स्रोत विकास गर्न किराना पसल तथा घुम्ती कपडा पसल सञ्चालनका लागिसमेत सहयोग गरिएको छ ।

सामाजिक परिचालक सन्तोषकुमार विसुन्काका अनुसार हाते ट्याक्टरको प्रभावकारी प्रयोग सुनिश्चित गर्न किसानलाई सञ्चालनसम्बन्धी तालिम दिइएको छ । प्रत्येक समूहमा एक जना चालकसमेत जिम्मेवारी तोकिएको उनले बताए ।

स्थानीय किसान सुलेना सदायले परियोजनामार्फत लिजमा लिइएको जग्गामा खेती गर्न थालेपछि परिवारको खाद्य सुरक्षामा सुधार आएको बताइन् ।

उनले खेतीबाट दैनिक खर्च धान्न र केही रकम बचत गर्न समेत सम्भव भएको अनुभव सुनाइन् ।

यता, छिमेकी बरियारपट्टि गाउँपालिकाका चार वडामा रहेका ८ कृषक समूहलाई पनि करिब पाँच लाख ६२ हजार रुपैयाँ मूल्य बराबरका हाते ट्याक्टर हस्तान्तरण गरिएको परियोजना संयोजक लालप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार लिजमा उपलब्ध गराइएको जग्गामा खेती गर्दै भूमिहीन दलित परिवारले आम्दानी बढाउन थालेका छन् ।

बरियारपट्टि गाउँपालिका–३ का वडाध्यक्ष विनोदकुमार यादवले भूमिहीन दलित समुदायको जीवनस्तर उकास्न स्थानीय तहले समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले सुरक्षित आवास, बालबालिकाको शिक्षा, सरसफाइ तथा सामाजिक सुधारका क्षेत्रमा निरन्तर पहल भइरहेको उल्लेख गरे ।

परियोजनाबाट कृषि उत्पादन वृद्धि हुनुका साथै भूमिहीन दलित समुदायमा आत्मनिर्भर बन्ने आत्मविश्वाससमेत बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।