जनकपुरधाम, २७ जेठ । धनुषाको लक्ष्मिनिया गाउँपालिका–३ स्थित भित्री सडक खण्डबाट प्रहरीले करिब ५० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे गजरियाबाट बनिनियातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा घरेलु मदिरा ओसारपसार भइरहेको भन्ने शंकामा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको गस्ती टोलीले मोटरसाइकल रोक्न खोजेको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालकले तीनवटा प्लास्टिकको बोरामा राखिएको मदिरा सडकमा फालेर मोटरसाइकलसहित फरार भएको जनाएको छ ।

त्यसपछि प्रहरीले घटनास्थलमा छाडिएका बोराहरू जाँच गर्दा करिब ५० लिटर घरेलु मदिरा फेला परेको थियो ।

बरामद मदिरालाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अगाडि बढाइएको तथा हाल प्रहरी चौकी लक्ष्मिनियामा राखिएको प्रहरीले जनाएको छ ।

घटना भएको स्थान प्रहरी चौकी लक्ष्मिनियाबाट करिब चार किलोमिटर उत्तरतर्फ पर्ने क्षेत्र रहेको बताइएको छ ।

फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।