अक्षर नचिनेकी ‘इन्दलदेवी’ परिवारको आधारस्तम्भ

-ज्योति झा
जनकपुरधाम, २७ जेठ । महोत्तरीको भंगहा नगरपालिकास्थित सखुवाटोल मुसहर बस्तीमा बिहान घाम उदाउनुअघि नै जीवन चलायमान हुन्छ । अधिकांश घरका महिलाहरू हातमा डोको, हँसिया वा घैँटो बोकेर घरबाहिर निस्कन्छन् । कसैको गन्तव्य घाँस काट्ने ठाउँ हुन्छ, कसैको बाख्रा चराउने खेतबारी त कसैको पोखरी किनार । जहाँ घोंघी र साना माछा खोज्दै दिन बित्छ ।
करिब ६५ घरधुरी रहेको यो मुसहर बस्तीमा महिलाहरूको जीवन दशकौँदेखि उस्तै छ । घरधन्दा, सन्तानको हेरचाह, खेतबारीको काम र परिवारको जिम्मेवारीमै उनीहरूको संसार सीमित रहने गरेको छ ।
छोरीहरूलाई विद्यालय पठाउने चलन अझै पनि बलियो हुन सकेको छैन । धेरै महिलाले गाउँभन्दा बाहिरको संसार नजिकबाट देख्ने अवसरसमेत पाएकी छैनन् ।
कम उमेरमै विवाह, चाँडै आमा बन्ने र त्यसपछि घरपरिवारको जिम्मेवारीमा जीवन बिताउनु यहाँका अधिकांश महिलाको साझा नियति जस्तै बनेको छ । यस्तो समुदायबाट कुनै महिला वैदेशिक रोजगारीका लागि विदेश जानु असाधारण घटना मानिन्छ ।
तर, यही बस्तीबाट एक महिलाले परम्परागत सीमाना तोडिन् । उनले गाउँको साँघुरो घेराभन्दा बाहिर निस्केर हजारौँ किलोमिटर टाढाको खाडी मुलुकसम्मको यात्रा गरिन् । उनले सफलता पनि देखिन्, पीडा पनि भोगिन् । उनी हुन् ४२ वर्षीया इन्दलदेवी मुसहर ।

उनको जीवनकथा एक महिलाको व्यक्तिगत संघर्ष मात्र नभई गरिबी, बाध्यता, श्रम, साहस, शोषण र आत्मनिर्भरताको दस्तावेज हो ।
इन्दलदेवीको बाल्यकाल अभावमै बित्यो । परिवारको आर्थिक अवस्था कमजोर थियो । मुसहर समुदायमा शिक्षा प्राथमिकतामा पर्ने अवस्था पनि थिएन ।
उनले कहिल्यै विद्यालयको ढोका टेक्न पाइनन् । अक्षर चिन्न सिक्ने उमेरमै उनको विवाह भयो । विवाहपछि केही वर्षमै सन्तान जन्मिए । त्यसपछि उनको जीवन घरधन्दा बालबच्चाको हेरचाह र दैनिक श्रममै सीमित भयो ।
बिहान उठेदेखि राति नसुत्दासम्म उनी घरकै काममा व्यस्त रहन्थिन् । परिवार चलाउन श्रीमानसँगै मजदुरी गर्नुपर्ने अवस्था थियो । तर, श्रम जति गरे पनि आयले परिवार धान्न कठिन हुँदै गयो ।
समय बित्दै जाँदा घरको ऋण बढ्न थाल्यो । साहुहरूको दबाब बढ्दै गयो । सन्तानको भविष्यबारे चिन्ता पनि उत्तिकै बढ्दै थियो । त्यही आर्थिक संकटले उनलाई गाउँको सीमाभन्दा बाहिर सोच्न बाध्य बनायो ।’रहरले नभई बाध्यताले विदेश जानुपर्यो,’उनी भन्छिन् ।
मुसहर बस्तीकी अधिकांश महिलाले गाउँबाहिरको शहरसमेत राम्ररी नदेखेका बेला इन्दलदेवीले खाडी मुलुक जाने निर्णय गरिन् । त्यतिबेला उनको उमेर ३५ वर्ष थियो ।
झापाकी एक महिला एजेन्टको माध्यमबाट उनी घरेलु कामदारका रूपमा ओमान पुगिन् । जीवनमा पहिलो पटक हवाईजहाज चढेकी उनी नयाँ देश, नयाँ भाषा र नयाँ संस्कृतिबीच पुग्दा डराएकी थिइन् ।
तर, परिवारको भविष्य सम्झिँदै उनले आफूलाई काममा समर्पित गरिन् । ओमानमा उनले घरायसी काम गर्न थालिन् । झाडु लगाउने, भाँडा माझ्ने, पोछा लगाउने, खाना पकाउन सहयोग गर्ने लगायतका काम उनको दैनिक जिम्मेवारी बने ।
आफ्नो शैक्षिक अवस्थाबारे उनी हाँस्दै भन्छिन्, ‘हम पढल–लिखल नई छी । घरेलु कामदारमें गेली, झाडु–बर्तन, पोछा करैछली ।’
शिक्षित नभए पनि मेहनत र इमानदारीले उनी रोजगारदाताको विश्वास जित्न सफल भइन् ।
विदेश जानुअघि इन्दलदेवीको सबैभन्दा ठूलो चिन्ता परिवारमाथि चढेको ऋण थियो । वर्षौँदेखि विभिन्न आवश्यकताका लागि लिएको ऋणले परिवारलाई थिचिरहेको थियो । आम्दानीको स्रोत कमजोर भएकाले ऋण तिर्ने सम्भावना पनि कम थियो ।
ओमानमा उनले लगातार काम गरिन् । आफूले कमाएको अधिकांश रकम नेपाल पठाइन् । परिवारले त्यो रकम ऋण तिर्न प्रयोग गर्यो ।
दुई वर्ष ६ महिनाको बसाइपछि उनले करिब २३ लाख रुपैयाँ बराबरको ऋण चुक्ता गरिन् । ‘घरमा धेरै ऋण थियो । विदेश गएर सबै ऋण तिरेँ,’उनी सुनाउँछिन् ।
ऋणमुक्त भएपछि उनको परिवारले ठूलो राहत महसुस गर्यो । बस्तीमा उनको चर्चा हुन थाल्यो । आर्थिक संकटसँग जुध्दै विदेश गएर ऋण तिर्न सफल भएकी महिलाको रूपमा उनी उदाहरणीय बनिन् ।
खाडी मुलुकबारे गाउँमा अनेक कथा सुनिन्थे । विशेषगरी महिला घरेलु कामदारका पीडाका कथा धेरै सुनिने गर्थे । इन्दलदेवीले पनि विदेश जानुअघि यस्ता धेरै कुरा सुनेकी थिइन् । तर, उनको अनुभव फरक रह्यो ।
उनी काम गर्ने घरका मालिकले उनलाई सम्मानपूर्वक व्यवहार गरे । उनले रोजगारदातालाई ‘मामा’ र ‘बाबा’ भनेर सम्बोधन गर्थिन् । त्यहाँको पारिवारिक वातावरणले उनलाई सहज महसुस गरायो ।
‘मैले राम्रो काम गरेँ, उहाँहरूले पनि मलाई माया र सम्मान दिनुभयो । विदेश महिलाका लागि नरकजस्तै हुन्छ भन्ने सुनेकी थिएँ । तर, मेरो लागि त ओमान वरदान बन्यो,’उनी भन्छिन् ।
नेपाल फर्किने बेला रोजगारदाताले उनको कामप्रति खुसी व्यक्त गर्दै १ लाख १७ हजार रुपैयाँ नगद पुरस्कारसमेत दिए । एक अशिक्षित मुसहर महिलाका लागि त्यो रकमभन्दा ठूलो कुरा थियो—आफ्नो श्रम र क्षमताको सम्मान ।
त्यो पुरस्कारले उनलाई आफू पनि सक्षम छु भन्ने आत्मविश्वास दियो ।ओमानबाट फर्किएपछि इन्दलदेवीले केही वर्ष परिवारसँगै बिताइन् ।
चार वर्षको अवधिमा उनले छोरीको विवाह गराइन् । घरको अवस्था केही सुध्रिएको थियो । तर, आर्थिक आवश्यकताहरू सकिएका थिएनन् ।
दैनिक खर्च, पारिवारिक जिम्मेवारी र भविष्यको चिन्ताले फेरि उनलाई विदेश जाने सोचतर्फ धकेल्यो । यसपटक उनले दोस्रो पटक वैदेशिक रोजगारी रोजिन् । गन्तव्य थियो—कुवेत ।
कुवेत पुग्दा इन्दलदेवीले सोचेकी थिइन्, दोस्रो विदेश यात्रा पनि पहिलो जस्तै सफल हुनेछ । तर, वास्तविकता फरक थियो ।
काम सुरु गरेको केही महिनामै उनको स्वास्थ्य बिग्रिन थाल्यो । लगातार ज्वरो आउने, शरीर दुख्ने र कमजोरी बढ्दै जाने समस्या देखियो ।
काम गर्न गाह्रो हुन थाल्यो । ‘कुवेत मेरो लागि नराम्रो साबित भयो,’उनी भन्छिन् ।
स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनले नेपाल फर्कन चाहिन् । तर, रोजगारदाताले अनुमति दिएनन् । बीचमै काम छोडेर फर्कन खोज्दा उनीसँग दुई लाख रुपैयाँ धरौटी मागियो । ‘मसँग त्यो पैसा थिएन । शरीरले काम गर्न सक्ने अवस्था पनि रहेन,’उनी सम्झिन्छिन् ।
स्वास्थ्य अवस्था झन् बिग्रँदै गयो । काम गर्ने क्षमता हराउँदै गयो । तर, घर फर्कने बाटो बन्दजस्तै थियो । अन्ततः उनले एउटा जोखिमपूर्ण निर्णय गरिन् ।
एक रात उनी काम गर्ने घरबाट भागिन् । त्यतिबेला उनीसँग आवश्यक कागजात थिएन । न त सुरक्षित आश्रयको व्यवस्था नै थियो । केही समयसम्म उनी लुकिछिपी बसिन् । तर, अन्ततः प्रहरीले उनलाई पक्राउ गर्यो ।
त्यो समय कुवेत सरकारले कागजातविहीन विदेशी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान सञ्चालन गरिरहेको थियो । इन्दलदेवी पनि त्यही अभियानअन्तर्गत पक्राउ परिन् ।
पक्राउ परेपछि उनले ११ दिन हिरासतमा बिताइन् । त्यो अवधिमा उनले आफ्नैभन्दा धेरै पीडा भोगेका महिलाहरूलाई भेटिन् । नेपाल, भारत र बङ्गलादेशका सयौँ महिला घरेलु कामदार त्यहाँ थिए ।
कसैलाई रोजगारदाताले यातना दिएका थिए । कोही घरबाट भागेका थिए । कोहीमाथि विभिन्न आरोप लगाइएको थियो । धेरै महिलाहरू मानसिक तनावमा थिइन् ।
‘धेरै कम उमेरका केटीहरू थिए । कसैलाई यौन हिंसा भएको रहेछ, कसैलाई चोरीको आरोप लगाइएको थियो । कोही रोजगारदाताको घरबाट भागेर आएका थिए,’उनी भन्छिन् ।
हिरासतमा सुनेका ती कथाहरूले उनलाई झस्कायो । उनी भन्छिन्, ‘त्यहाँ पुगेपछि मात्र बुझियो, विदेशमा कमाउन जाने सबैको कथा सफलताको हुँदैन रहेछ ।’
११ दिनपछि उनी स्वदेश फर्किन सफल भइन् । सन् २०२४ को अन्त्यतिर नेपाल फर्केपछि उनले फेरि विदेश जाने सोच बनाएकी छैनन् ।’शरीरले साथ दिएन । मनले पनि कुवेतको यात्रा सम्झिँदा फेरि जान भन्दैन,’उनी भन्छिन् ।
अहिले उनी आफ्नै गाउँमा बस्छिन् । दैनिक जीवन सामान्य छ । तर, उनको अनुभव असामान्य छ ।
सखुवाटोल मुसहर बस्तीबाट वैदेशिक रोजगारीमा जाने पहिलो महिला बनेर इन्दलदेवीले सामाजिक परम्पराका सीमाना तोडिन् ।
ओमानको यात्राले उनलाई ऋणमुक्त बनायो, आर्थिक रूपमा उभिन मद्दत गर्यो र आत्मविश्वास दियो । तर, कुवेतको अनुभवले वैदेशिक रोजगारीका जोखिम, श्रमिक असुरक्षा र कमजोर समुदायका महिलाले भोग्नुपर्ने कठिन यथार्थ उजागर गरिदियो ।
उनको कथाले वैदेशिक रोजगारी आर्थिक अवसर मात्र नभई कहिलेकाहीँ जीवन र सुरक्षाको चुनौती पनि हो भन्ने देखाउँछ ।विशेषगरी सीमान्तकृत, अशिक्षित र गरिब समुदायका महिलाहरूका लागि सुरक्षित वैदेशिक रोजगारी, प्रभावकारी श्रमिक संरक्षण, कानुनी सहायता र सरकारी निगरानी अझै अपरिहार्य आवश्यकता बनेको छ ।
मुसहर बस्तीकी एक अशिक्षित महिलाले हजारौँ किलोमिटर टाढा पुगेर ऋण तिरिन्, परिवार उकासिन्, सम्मान कमाइन् र कठिन परिस्थितिबाट ज्यान जोगाएर फर्किइन् ।
त्यसैले इन्दलदेवी मुसहरको कथा एक व्यक्तिको जीवनी मात्र नभई नेपालको वैदेशिक रोजगारीको सफलतादेखि संघर्षसम्मको यथार्थ चित्रण हो ।
उनको यात्राले एउटा प्रश्न पनि छाडेको छ—गरिबीले विदेश जान बाध्य बनाउने महिलाहरूलाई सुरक्षित राख्ने जिम्मेवारी आखिर कसको हो?

