चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई शव फेला
जनकपुरधाम, ३१ भदौ । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्ने क्रममा दुईवटा शव फेला परेका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजी तथा उद्धार टोलीले सुरुङभित्र करिब आधा घण्टाअघि दुईवटा शव फेला पारेको हो ।
उनका अनुसार सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्र फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको जनाइएको छ ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेको आशंकामा खोजी तथा उद्धार कार्य जारी छ ।
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका हुनसक्ने व्यक्तिको खोजीका लागि सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन हुँदै आएका छन् ।
चिलिमे आयोजनाको सुरुङमा फेला परेका दुई शव पनि सोही क्रममा भेटिएका हुन् । प्रहरीले घटनाबारे थप विवरण संकलन तथा पहिचानको प्रक्रिया अघि बढाएको जनाएको छ ।


