८ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, ३१ भदौ । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीले खोजतलास तथा आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये ५ जना कुटपिट मुद्दाका प्रतिवादी छन् । उनीहरूलाई धनुषा जिल्ला अदालतले जनही ९२ रुपैयाँ जरिवाना तोकेको थियो ।
यस्तै, लागुऔषध मुद्दामा एक जना पक्राउ परेका छन् । उनलाई अदालतले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
त्यसैगरी चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूमध्ये एक जनालाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा अर्का एक जनालाई ४ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको जानकारी दिए ।


