महोत्तरी, ३१ भदौ । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा जनप्रतिनिधि र कर्मचारीमाथि हातपात तथा कार्यालयमा तोडफोड भएको भन्दै नगरपालिकाले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

नगरपालिकाका अनुसार बुधबार बिहान करिब ११ः३० बजे केही व्यक्तिहरू नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत तथा हातपात गर्नुका साथै कार्यालय परिसरमा तोडफोड गरेका थिए ।

घटनामा अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत हातपात र अभद्र व्यवहार भएको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाका कर्मचारीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा गुनासो तथा असमझदारीलाई संवाद, विधिको शासन र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा ठूलो समूहमा आएर कार्यालयमा तोडफोड तथा जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गर्नु गम्भीर र अमर्यादित कार्य भएको उल्लेख गरिएको छ ।

तोडफोडका कारण सार्वजनिक सम्पत्तिमा क्षति पुगेको तथा जनप्रतिनिधि र कर्मचारीको सुरक्षामा समेत प्रश्न उठेको भन्दै नगरपालिकाले घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । यस्ता घटनाले सेवामा खटिने कर्मचारीको मनोबलमा समेत असर परेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न र तोडफोडबाट भएको सार्वजनिक सम्पत्तिको क्षति सम्बन्धित पक्षबाट भराउन सम्बन्धित निकायसँग माग गरेको छ ।

साथै, कर्मचारी तथा जनप्रतिनिधिको पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म औरही नगरपालिका तथा मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय महोत्तरी, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी गराइएको छ ।