स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ
जनकपुरधाम, ३१ भदौ । धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
धनुषाको धनौजी गाउँपालिका–२ गोरदाहा–देउरी भित्री सडकखण्डबाट प्रहरीले भारत मधुवनीका ३५ वर्षीय राधाकान्त बयारलाई नगदसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार दिउँसो करिब ३ः४५ बजे प्रहरी चौकी धनौजी (ख) बाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमाण्डमा खटिएको गस्ती टोलीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा बयारले कपडाको पेटीभित्र १३ लाख ६५ हजार रुपैयाँ लुकाएर कम्मरमा बाँधेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



