जनकपुरधाम, २७ जेठ । बालिका अपहरण तथा जबरजस्ती करणीको आरोपमा मुद्दा खेपिरहेका नेकपा एमालेका नेता शिवशंकर साह हिरासहित सबै आरोपितले जिल्ला अदालत धनुषाबाट सफाइ पाएका छन् ।

अदालतले घटनासम्बन्धी प्रमाण, बयान तथा अनुसन्धान प्रतिवेदनको अध्ययनपछि आरोपितहरूविरुद्ध अभियोग पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै शिवशंकर साह हिरा, अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह र रामबाबु झालाई सफाइ दिएको हो ।

उक्त घटनामा शिवशंकर साह हिरा, अमित ठाकुर र संजय महासेठमाथि अपहरणको अभियोगसमेत लगाइएको थियो भने अन्य आरोपितमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिएको थियो ।

घटनापछि यो विषयले जनकपुरधामसहित मधेश प्रदेशको राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा पाएको थियो ।

अदालतको निर्णयसँगै आरोपितहरू कानुनी रूपमा निर्दोष ठहरिएका छन् । यस घटनालाई लिएर सार्वजनिक रूपमा विभिन्न आरोप–प्रत्यारोप र बहस भए पनि अदालतले अभियोग पुष्टि हुने पर्याप्त आधार नदेखिएको जनाएको छ ।

शिवशंकर साह हिरा २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदका लागि एमालेका उम्मेदवार थिए । उनी एमालेका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

यता, पीडित बालिका हाल संरक्षणका लागि सेफ हाउसमा रहेको बताइएको छ । बालिकाले दिएको जाहेरी तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे सम्बन्धित निकायबाट आवश्यक अनुसन्धान प्रक्रिया भने जारी रहेको स्रोतले जनाएको छ ।