जनकपुरधाम, २७ जेठ । भारतको हरियाणा राज्यमा रोजगारीका लागि गएका महोत्तरीका १६ नेपाली श्रमिकलाई श्रम शोषण तथा दुव्र्यवहारको अवस्थाबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको छ। उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याएर परिवारजनको जिम्मा लगाइएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका ती श्रमिकहरूलाई भारतीय सुरक्षा निकाय, नयाँ दिल्लीस्थित नेपाली दूतावास, आफन्त इन्डिया फाउन्डेसन तथा इलाका प्रहरी कार्यालय बर्दिबासको समन्वयमा उद्धार गरिएको हो ।

उद्धारपछि उनीहरूलाई भिठामोड नाका हुँदै नेपाल प्रवेश गराई आफन्तको जिम्मा लगाइएको जनाइएको छ ।

जानकारी अनुसार आकर्षक तलब र राम्रो कामको प्रलोभन देखाएर गत चैत १३ गते उनीहरूलाई हरियाणाको झज्जर जिल्लास्थित एक कुखुरा फार्ममा कामका लागि लगिएको थियो ।

तर, त्यहाँ पुगेपछि श्रमिकहरूले सम्झौताअनुसारको सुविधा नपाउनुका साथै कुटपिट, धम्की, गालीगलौज र विभिन्न प्रकारका श्रम शोषण सहनुपरेको बताएका छन् ।

पीडित श्रमिकहरूले आफूहरू बसेको स्थानको वास्तविक अवस्था देखिने भिडियो र तस्वीर परिवारजनलाई पठाएपछि घटना सार्वजनिक भएको थियो ।

त्यसपछि परिवारका सदस्यहरूले इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाली दूतावासको समन्वयमा भारतीय प्रहरीले सम्बन्धित फार्ममा पुगेर श्रमिकहरूको उद्धार गरेको हो ।

आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई स्वदेश फर्काइएको उनले बताए ।

उद्धारपछि नेपाल फर्किएका श्रमिकहरूले घर फर्किने आशा नै हराइसकेको अवस्थामा विभिन्न निकायको सक्रियताका कारण नयाँ जीवन पाएको अनुभूति भएको बताएका छन् ।

उनीहरूले उद्धार अभियानमा संलग्न सबै निकायप्रति आभार व्यक्त गरेका छन् ।

यस घटनाले भारत तथा अन्य मुलुकमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सुरक्षा, निगरानी तथा पूर्वसचेतनाको आवश्यकता अझै महत्वपूर्ण रहेको तथ्यलाई पुनः उजागर गरेको छ ।