बारा, २६ जेठ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा नियमन कडा बनाउँदै मापदण्डविपरीत सञ्चालनमा रहेका निजी विद्यालयहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

अनुमति प्राप्त तहभन्दा माथिका कक्षा सञ्चालन गरिरहेका तथा विभिन्न नियम उल्लंघन गरेका विद्यालयहरूलाई उपमहानगरले बन्द गर्ने र अनुमति खारेजसम्मको चेतावनी दिएको हो ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार स्वीकृत तहभन्दा माथि कक्षा सञ्चालन गर्दै आएका ८ वटा संस्थागत विद्यालयलाई अनुमति खारेजको प्रक्रियामा लैजान सकिने चेतावनी दिइएको छ ।

कारबाहीको सूचीमा वडा नं. १७ को एड्भान्स इङ्ग्लिस बोर्डिङ स्कुल, वडा नं. १८ का मिसन एकेडेमी उचिडी र डुमरवाना पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल, वडा नं. ७ को अम्ब्रेला एकेडेमी, वडा नं. १ को न्यू होराइजन तथा अमलेखगञ्जस्थित नाइट एञ्जल, लिटल एञ्जल र वडा नं. २२ चकरीको आदर्श किड्स ल्यान्ड स्कुल रहेका छन् ।

उपमहानगरका अनुसार ती विद्यालयहरूले पालिकाबाट प्राप्त अनुमतिभन्दा माथिल्लो कक्षामा पठनपाठन गराउनुका साथै विद्यार्थीलाई अन्य विद्यालयको नामबाट परीक्षा दिलाउने अभ्याससमेत गरेको पाइएको छ ।

शिक्षा महाशाखाले तत्काल स्वीकृत कक्षाभन्दा बाहिर विद्यार्थी भर्ना नगर्न र पठनपाठन रोक्न निर्देशन दिएको छ ।

यसअघि जेठ १९ गते बसेको नगर शिक्षा समितिको बैठकले चार वटा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

निर्णयअनुसार वडा नं. १ को माउन्ट एभरेष्ट स्कुल, वडा नं. ३ को रोज एकेडेमी, वडा नं. ७ को अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र वडा नं. १९ को बाबुलाल एकेडेमी बन्द गरिएका छन् ।

उपमहानगरपालिकाले अभिभावकलाई ती विद्यालयमा नयाँ भर्ना नगर्न समेत आग्रह गरेको छ ।

उक्त विद्यालयहरूले पाएको अनुमति र सञ्चालन गरेका कक्षाबीच ठूलो अन्तर रहेको पाइएको छ ।

माउन्ट एभरेष्टले कक्षा १२, रोज र अम्ब्रेलाले कक्षा ५ तथा बाबुलाल एकेडेमीले कक्षा ३ सम्म मात्र अनुमति पाए पनि सोभन्दा माथिका कक्षा सञ्चालन गर्दै आएका थिए ।

शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा विद्यालय बन्द गराउने निर्णयले स्थानीय स्तरमा चासो र बहस सिर्जना गरेको छ ।

न्यू होराइजन इङ्ग्लिस स्कुलका संस्थापक सञ्चालक अभिषेक राजनले विद्यालय सञ्चालनको अनुमति प्रक्रिया अन्तिम चरणमा रहेकाले कारबाही प्रक्रिया केही समयका लागि स्थगित गर्न आग्रह गरेका छन् ।

उनले विद्यालयले कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाउँदै समय थपको माग गरेका हुन् ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत हरिश भट्टले भने कारबाही विद्यार्थीको हितविपरीत नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार बन्द गरिएका अधिकांश विद्यालयका विद्यार्थीलाई अन्य विद्यालयमा स्थानान्तरण गरिसकिएको छ भने बाँकी विद्यार्थीका लागि पनि व्यवस्थापन गरिनेछ ।

भट्टका अनुसार एउटै भवनमा दुई वटा विद्यालय सञ्चालन गर्नु, अनुमति लिएको स्थानभन्दा फरक ठाउँमा विद्यालय सार्नु तथा अन्य मापदण्ड उल्लंघन गर्नु कारबाहीका मुख्य आधार हुन् ।

उदाहरणका रूपमा वडा नं. १ मा दर्ता रहेको माउन्ट एभरेष्ट स्कुल अमलेखगञ्जमा सञ्चालन गरिएको र सोही भवनमा नाइट एञ्जल नामक अर्को विद्यालयसमेत चलाइएको पाइएको छ ।

यस्तै, रोज एकेडेमीसँगै न्यू एकता, बाबुलाल एकेडेमीसँग मिडल्यान्ड एकेडेमी तथा अम्ब्रेला एकेडेमीसँग सोही नामको अर्को विद्यालय एउटै भवनमा सञ्चालन गरिएको भेटिएको शिक्षा शाखाले जनाएको छ ।

हाल जीतपुरसिमरा उपमहानगरपालिकाभित्र ४६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।

पछिल्ला वर्षहरूमा उपमहानगरले निजी विद्यालयहरूको शुल्क निर्धारण, छात्रवृत्ति छनोट परीक्षा तथा अनुगमन प्रणालीलाई व्यवस्थित बनाउँदै नियमनमा कडाइ गर्दै आएको छ ।