सिरहा, २६ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता अनिलकुमार साहसहित परीक्षार्थी महेश कुमार महासेठ, रमण कुमार यादव लगायतले मंगलबार संयुक्त रूपमा रिट दायर गरेका हुन् ।

रिटमा नेपाल सरकार, गृह मन्त्रालय, मधेश प्रदेशको शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, जिल्ला प्रशासन कार्यालय सिरहा लगायतलाई विपक्षी बनाइएको छ ।

रिट निवेदकहरूले जफत गरिएका उपकरणहरू कानुनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको भन्दै पीडित विद्यार्थी तथा अभिभावकलाई बजार मूल्य र डेटा क्षतिको आधारमा उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

साथै, घटनामा संलग्न जिम्मेवार अधिकारी तथा कर्मचारीमाथि फौजदारी र विभागीय कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।

उनीहरूले भविष्यमा देशभरका परीक्षा केन्द्रहरूमा जफत गरिएका सामग्री नष्ट नगर्न आवश्यक आदेश जारी गर्न पनि सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।

गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा परीक्षा मर्यादा उल्लंघन गरेको आरोपमा सिरहाका विभिन्न केन्द्रबाट ७ थान आइफोन, ४८९ थान एन्ड्रोइड मोबाइल र ५ थान स्मार्टवाच जफत गरिएको थियो ।

ती सामग्री जिल्ला परीक्षा समन्वय समिति सिरहाको निर्णय तथा तत्कालीन मधेश प्रदेशकी शिक्षामन्त्रीको घोषणाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पानी भरिएको ड्रममा डुबाएर नष्ट गरिएको थियो ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

रिट निवेदकहरूले परीक्षामा मोबाइल प्रयोग निषेध भए पनि परीक्षा समाप्तिपछि अभिभावकको रोहबरमा वा आवश्यक जरिवाना लिएर फिर्ता गर्नुपर्नेमा स्वेच्छाचारी ढंगले नष्ट गरिएको दाबी गरेका छन् ।

रिटमा करिब एक करोड रुपैयाँ बराबरको निजी सम्पत्ति कुनै स्पष्ट कानुनी आधार र प्रक्रिया बिना नष्ट गरिनु कानुनी शासनको सिद्धान्तविपरीत भएको उल्लेख गरिएको छ ।