जनकपुरधाम, २६ जेठ । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मधेश प्रदेशका ४१ उद्योगविरुद्ध चालु आर्थिक वर्षमा मुद्दा दायर गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका अनुसार अनुगमनका क्रममा संकलन गरिएका खाद्य वस्तुका नमूनाहरू परीक्षण गर्दा मापदण्डविपरीत अखाद्य तथा गुणस्तरहीन पदार्थ मिसाएर उत्पादन गरिएको पुष्टि भएपछि सम्बन्धित उद्योगहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।

कार्यालय प्रमुख विमलकुमार दाहालले पर्सा र बारा जिल्लाका उद्योगहरूमा सबैभन्दा बढी अनियमितता भेटिएको जानकारी दिए । ती दुई जिल्लाका मात्रै ३८ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।

कारबाहीमा परेका उद्योगमध्ये सूर्यमुखी तेलका ८, भटमास तेलका ४, मह उत्पादन गर्ने १७, वामोलिस उत्पादन गर्ने १ तथा वनस्पति घ्यु उत्पादन गर्ने २ उद्योग रहेका छन् ।

त्यसैगरी, सर्लाहीमा तीन उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । तीमध्ये पाउरोटी, चाउमिन र खानेपानी उत्पादन गर्ने एक–एक उद्योग रहेको कार्यालयले जनाएको छ ।

दायर गरिएका मुद्दामध्ये केही जिल्ला प्रशासन कार्यालयमा र केही सम्बन्धित जिल्ला अदालतमा विचाराधीन रहेका छन् । धनुषा जिल्लाका तीन उद्योगमाथि भने हाल अनुसन्धान प्रक्रिया जारी रहेको कार्यालयले जनाएको छ ।

खाद्य पदार्थमा हुने मिसावटले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवका अनुसार गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य वस्तुको सेवनका कारण उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला सम्बन्धी नसर्ने रोगहरूको जोखिम बढ्दै गएको छ ।

उनले खाद्य सुरक्षाको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र उपभोक्ता सचेतनामा जोड दिँदै स्वस्थ समाज निर्माणका लागि खाद्य गुणस्तर सुनिश्चित गर्नु अपरिहार्य रहेको बताए ।