रास्वपाको मधेश प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले प्रदेश तथा जिल्ला तहमा देखिएको संगठनात्मक विवाद र अधिवेशन प्रक्रिया पूरा हुन नसकेपछि अधिवेशन रोक्ने निर्णय गरेको हो ।
यसअघि जेठ २८ गतेका लागि तय गरिएको मधेश प्रदेश अधिवेशन स्थगित गरिएको जानकारी आयोगले मंगलबार सार्वजनिक गरेको सूचनामार्फत दिएको छ ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक तथा भेला लगायत सम्पूर्ण गतिविधि अर्को निर्णय नभएसम्मका लागि रोकिएको छ ।
पार्टीले जेठ २३ र २४ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको भए पनि अधिकांश जिल्लामा नेतृत्व चयनको चरणमा विवाद उत्पन्न भएपछि नयाँ समिति गठन हुन सकेको छैन ।
मधेश प्रदेशका आठ जिल्लामध्ये हालसम्म पर्सामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको जनाइएको छ ।
यसैबीच, धनुषा जिल्ला अधिवेशनका लागि मंगलबार जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा बोलाइएको कार्यक्रम पनि अन्तिम समयमा स्थगित भएको छ ।
अधिवेशनमा सहभागी हुन पुगेका कार्यकर्ताहरू अनुशासन आयोगको परिपत्रपछि घर फर्किएका छन् ।
रास्वपाले देशव्यापी रूपमा प्रदेश अधिवेशन सञ्चालन गरिरहेको छ ।
पार्टीको पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट सुरु भएको छ भने कोशी प्रदेशको अधिवेशन जेठ २७, गण्डकीको २९, लुम्बिनीको ३०, कर्णालीको ३१ जेठ तथा सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तय गरिएको छ । तर, मधेश प्रदेशको नयाँ मिति भने अझै सार्वजनिक गरिएको छैन ।

