शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम, २५ जेठ । मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूको हक, अधिकार र सम्मान सुनिश्चित गर्न माग गर्दै मधेशी शहिद एवं घाइते हकहित संघर्ष समितिले सोमबार जनकपुरधाममा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी शहिद परिवारका सदस्य तथा आन्दोलनका क्रममा घाइते भएकाहरूले राज्यले शहिद र घाइतेहरूको योगदानको उचित सम्मान नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनीहरूले शहिद परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।
समितिले मधेश आन्दोलनका शहिद तथा घाइतेहरूको हित संरक्षणका लागि छुट्टै ऐन–कानुन निर्माण गर्नुपर्ने र मधेशी शहिद प्रतिष्ठानलाई स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारेको छ ।
साथै, शहिद परिवार तथा घाइतेहरूको जीवनयापन सहज बनाउन भरणपोषण भत्ता लागू गर्नुपर्ने माग पनि प्रदर्शनमार्फत उठाइएको छ ।
संघर्ष समितिका अध्यक्ष तथा मधेशी शहिद प्रतिष्ठानका सदस्य अवधेशप्रसाद पटेलले मधेश आन्दोलनमा बलिदान दिने शहिद र घाइतेहरूको योगदानलाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्न नसकेको आरोप लगाए ।
आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिका परिवारप्रति राज्यले विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने भए पनि बेवास्ता भइरहेको उनको भनाइ थियो ।
उनले शहिद परिवार र घाइतेहरूको मागप्रति संघीय तथा प्रदेश सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए ।
समितिले आफ्ना मागहरू सम्बोधन गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै शहिद तथा घाइतेहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित हुने गरी ठोस नीति, कार्यक्रम र कानुनी व्यवस्था ल्याउन आग्रह गरेको छ ।

