फैन्सी व्यवसायी महासंघ नेपालको नेतृत्वमा जनकपुरधामको बलियो उपस्थिति

जनकपुरधाम, २५ जेठ । देशभरका फैन्सी, कपडा तथा रेडिमेड व्यवसायीलाई एउटै छातामुनि संगठित गर्ने उद्देश्यसहित ‘फैन्सी व्यवसायी महासंघ नेपाल’ गठन गरिएको छ ।
चितवनको भरतपुरमा सम्पन्न पहिलो राष्ट्रिय अधिवेशनले महासंघको स्थापना गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।
महासंघले देशका २२ जिल्लाका व्यवसायीलाई संस्थागत रूपमा जोड्दै व्यवसायिक हकहित र अधिकारका लागि साझा मञ्चको रूपमा काम गर्ने जनाएको छ ।
अधिवेशनबाट जनकपुरधामका व्यवसायीहरूले समेत केन्द्रीय नेतृत्वमा स्थान बनाउन सफल भएका छन् ।
जनकपुरधाम कपडा तथा रेडिमेड व्यवसायी संघका वरिष्ठ सल्लाहकार अशोक कुमार साह महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् भने संघका अध्यक्ष संदिप साह केन्द्रीय सदस्यमा चयन भएका छन् ।
महासंघको अध्यक्षमा रामप्रसाद पौडेल निर्वाचित भएका छन् । अधिवेशनले ३१ सदस्यीय कार्यसमिति चयन गरिएको महासंघले जनाएको छ ।
नवनिर्वाचित उपाध्यक्ष अशोक कुमार साहले फैन्सी तथा रेडिमेड व्यवसायीका साझा समस्या समाधान, व्यवसायमैत्री नीति निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले साना तथा मध्यम व्यवसायीलाई संगठित गर्दै व्यवसाय क्षेत्रमा देखिएका चुनौती समाधानका लागि महासंघ सक्रिय रहने बताए ।
त्यस्तै, केन्द्रीय सदस्यमा निर्वाचित संदिप साहले महासंघको स्थापना व्यवसायीहरूको लामो समयदेखिको आवश्यकताको परिणाम भएको उल्लेख गर्दै देशभरका व्यवसायीबीच समन्वय, सहकार्य र एकताको भावना विकास गर्न संगठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
महासंघ गठनसँगै फैन्सी तथा रेडिमेड व्यवसाय क्षेत्रका समस्या, नीति तथा अधिकारका सवालमा व्यवसायीहरूको साझा आवाज थप सशक्त हुने विश्वास गरिएको छ ।

