महोत्तरी, २५ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट दुई दिनअघि हराएका तीन वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।

शव बोराभित्र राखिएको अवस्थामा पोखरीमा भेटिएपछि प्रहरीले हत्या भएको आशङ्का गर्दै अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादव शुक्रबार साँझ घरनजिकै खेलिरहेको अवस्थामा अचानक सम्पर्कविहीन भएका थिए ।

परिवारले खोजतलास गरे पनि बालक फेला नपरेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

आइतबार बिहान गाउँकै पोखरीमा एउटा बोरा तैरिरहेको र त्यसभित्र बालकको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बोराभित्र रहेको शव मनिकेशकै भएको पुष्टि गरेको जनाएको छ ।

शव बोराभित्र राखिएको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानिएको र हत्या भएको हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाइएको डीएसपी गोलेले बताए । घटनाबारे थप तथ्य जुटाउन प्रहरी परिचालन गरिएको छ ।

यसैबीच, महोत्तरीमा बालबालिका हराउने घटनाले चिन्ता बढाएको छ । जलेश्वर नगरपालिका–१२ का आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव जेठ ७ गतेदेखि तथा जलेश्वर–६ का बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल जेठ १४ गतेदेखि बेपत्ता छन् ।उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

लगातार बालबालिका हराउने घटनापछि स्थानीयवासीले सुरक्षा व्यवस्था कडा बनाउन र बेपत्ता बालबालिकाको खोजीलाई तीव्रता दिन माग गरेका छन् ।