सिरहा, २४ जेठ । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको वर्षौंदेखि अधुरो रहेको पुलको निरीक्षण गर्न पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई स्थानीयले असन्तुष्टि जनाएका छन् ।

शनिबार साँझ निर्माणाधीन पुलस्थल पुगेका मन्त्री लम्सालले निर्माणको प्रगति तथा विद्यमान अवस्थाबारे जानकारी लिँदै सम्बन्धित निकायलाई कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

तर, पुल निर्माणको भविष्य, पुरानो संरचनाको व्यवस्थापन तथा निर्माण सम्पन्न हुने समयसीमाबारे स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

निरीक्षणका क्रममा स्थानीयले पुल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने प्रश्न उठाएका थिए । मन्त्रीबाट ठोस जवाफ नआएपछि केही युवाले नाराबाजी गरेका थिए ।

मन्त्रीको टोली फर्किने क्रममा ‘फोटो खिचेर मात्र हुँदैन, काम पनि चाहिन्छ’ तथा ‘वर्षौंदेखिको समस्याको समाधान गर’ जस्ता नाराहरू लगाइएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

कमला पुल करिब डेढ दशकदेखि अधुरो अवस्थामा रहँदै आएको छ । पुल निर्माण सम्पन्न नहुँदा सिरहा र धनुषाका हजारौं सर्वसाधारणले दैनिक आवतजावतमा सास्ती भोग्दै आएका छन् ।

यसअघि पनि विभिन्न प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी अधिकारीहरूले पुलस्थलको निरीक्षण गरे पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन ।

हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले निरीक्षणका क्रममा ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं’ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर, निर्माण सम्पन्न हुने मिति, आवश्यक बजेट तथा कार्यान्वयन रणनीतिबारे कुनै स्पष्ट योजना सार्वजनिक नभएकाले स्थानीयहरू सन्तुष्ट हुन नसकेको उनले बताए ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले मन्त्रीको भ्रमणपछि सामान्य नाराबाजी भएको पुष्टि गरे ।

उनले विरोधका कारण कुनै अप्रिय घटना वा यातायात अवरोध नभएको उल्लेख गर्दै मन्त्रीको सवारी व्यवस्थापनका क्रममा प्रहरीले आवश्यक सहजीकरण गरेको जानकारी दिए ।

वर्षौंदेखि अधुरो रहेको कमला पुलको निर्माण कहिले पूरा हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित रहेकाले स्थानीयवासीले सरकारसँग अब निरीक्षण र आश्वासनभन्दा बढी व्यवहारिक कामको अपेक्षा गरेका छन् ।