सिरहा, २४ जेठ । न्यायिक प्रणाली, कानुनी अधिकार तथा अदालतको भूमिकाबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले जिल्ला अदालत सिरहाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम सञ्चालन गरेको छ ।

लहान नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला अदालत सिरहाका प्रमुख न्यायाधीश डा. श्रीप्रकाश उप्रेती, न्यायाधीशहरू, कानुन व्यवसायी, जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख न्यायाधीश डा. उप्रेतीले न्यायमा पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अदालतले विपन्न, असहाय तथा पछाडि परेका समुदायका लागि निःशुल्क कानुनी सहायता सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले कानुनी सेवाबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

उनले स्थानीय तहका न्यायिक समितिले प्रभावकारी भूमिका निर्वाह गर्न सके नागरिकले सहज रूपमा न्याय प्राप्त गर्न सक्ने धारणा व्यक्त गरे । न्यायिक सेवा नागरिकको घरदैलोमै पुग्नुपर्ने आवश्यकता औंल्याउँदै उनले कानुनी साक्षरतामा जोड दिए ।

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले न्यायप्रतिको विश्वास बढाउन तथा नागरिकलाई आफ्नो अधिकारबारे सचेत बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए । उनका अनुसार न्याय अदालतको विषय मात्र नभई हरेक नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको अधिकारको विषय हो ।

क्याम्पस प्रमुख सञ्जय चौधरीले विद्यार्थीलाई व्यावहारिक ज्ञानसँग जोड्ने कार्यक्रमले कानुनी चेतना विस्तारमा योगदान पुर्‍याउने बताए । अधिवक्ता सन्तोष सुवेदीले कानुनी जानकारीले नागरिकलाई आफ्नो अधिकार र दायित्वबारे स्पष्ट बुझ्न सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा अदालतको कार्यप्रणाली, न्याय प्राप्तिको प्रक्रिया, कानुनी उपचारका उपाय तथा निःशुल्क कानुनी सहायता सेवाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो ।

जिल्ला अदालत सिरहाले यसअघि पनि विभिन्न विद्यालय तथा शैक्षिक संस्थामा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अदालतले आगामी दिनमा न्यायसम्बन्धी जानकारी समुदायस्तरसम्म विस्तार गर्ने योजना रहेको जनाएको छ ।