रौतहट, २४ जेठ । वन संरक्षणका लागि खटिएको गस्ती टोलीमाथि आक्रमण गरेको आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–२ मैढा निवासी २६ वर्षीय राजकिशोर साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगन्ज बिर्ताको संयुक्त टोलीले साहलाई वीरगन्जमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरीको जाहेरीका आधारमा साहसहित केही व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।

सोही मुद्दामा जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेपछि प्रहरी उनको खोजीमा जुटेको थियो ।

गत जेठ १९ गते मध्यराति काठ तस्करी भइरहेको सूचनापछि डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोली वन क्षेत्रमा गस्तीका लागि पुगेको थियो । त्यसक्रममा जंगलभित्र पुगेको टोलीमाथि एक समूहले योजनाबद्ध रूपमा आक्रमण गरेको आरोप छ ।

घटनामा सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेल घाइते भएका थिए ।

रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवले वन क्षेत्रमा भइरहेको काठ चोरी नियन्त्रण गर्न टोली परिचालन गरिएको भए पनि गस्तीका क्रममा उनीहरूमाथि संगठित आक्रमण भएको बताएका छन् ।

वन संरक्षणका लागि खटिएका कर्मचारीमाथि भएको आक्रमणपछि रौतहटका वन क्षेत्रमा सक्रिय काठ तस्करी सञ्जाल र वनकर्मीको सुरक्षाको विषय पुनः चर्चामा आएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ ।