जनकपुरधाम, २४ जेठ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता महेन्द्र यादवले मधेश प्रदेशमा मदिरा र गुटखाको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउन प्रदेश सरकारसँग माग गरेका छन् ।

नेपाल–भारत मैत्री युवा संघ धनुषाले सञ्चालन गरेको लागूऔषधविरुद्धको जनचेतनामूलक अभियानलाई सम्बोधन गर्दै यादवले मदिरा र गुटखाबाट राज्यले प्राप्त गर्ने राजस्वभन्दा त्यसका कारण समाज र जनस्वास्थ्यमा पुग्ने नकारात्मक असर धेरै गम्भीर रहेको बताए ।

उनले यस्ता वस्तुको प्रयोग नियन्त्रण गर्न प्रदेश सरकारले ठोस नीति तथा कानुनी व्यवस्था अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका यादवले मदिरा तथा गुटखा सेवनका कारण विभिन्न रोगहरू बढ्दै गएको उल्लेख गर्दै त्यसको उपचारमा राज्य र सर्वसाधारणले ठूलो आर्थिक भार व्यहोर्नुपरेको बताए ।

‘यस्ता वस्तुबाट उठ्ने राजस्वभन्दा स्वास्थ्य उपचारमा हुने खर्च र सामाजिक क्षति धेरै ठूलो छ,’उनले भने ।

यादवले युवापुस्तालाई कुलत तथा लागूऔषधको दुष्प्रभावबाट जोगाउन मधेश प्रदेशका विभिन्न जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए ।

उनले राष्ट्रको भविष्य युवाको हातमा रहेको उल्लेख गर्दै युवा वर्गलाई सही मार्गमा अघि बढाउन परिवार, विद्यालय, समाज र राज्य सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरे ।

उनले लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि सरकारी निकाय, शैक्षिक संस्था, अभिभावक र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउँदै अभियानमा सक्रिय सहभागिताका लागि सबै पक्षलाई आग्रह गरे ।

नेपाल–भारत मैत्री युवा संघ धनुषाका अध्यक्ष बजरंग यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, प्रदेशसभा सदस्य कुमरकान्त झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने, मुस्कान सुधार केन्द्रका सञ्चालक सञ्जय ठाकुर, चिकित्सक रोविन झा लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले लागूऔषध, मदिरा तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले युवा पुस्तामा नकारात्मक असर परिरहेको भन्दै जनचेतना अभिवृद्धिसँगै प्रभावकारी नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।