रास्वपाको नगर सभापतिमा नायक निर्वाचित

जनकपुरधाम, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहानगरपालिका समितिको प्रथम नगर अधिवेशनबाट ललन कुमार नायक नगर सभापतिमा निर्वाचित भएका छन् ।
उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनमा नेतृत्व चयनका लागि अन्तिम समयसम्म सहमतिको प्रयास गरिए पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
नगर सभापति पदका लागि ललन कुमार नायक र जितेन्द्र महासेठबीच प्रतिस्पर्धा भएको थियो ।
दुवै उम्मेदवारले आफ्नो दाबी कायम राखेपछि मतदान गराइएको थियो । निर्वाचनमा कुल १७६ मत खसेकोमा नायकले १०५ मत प्राप्त गर्दै विजयी बने भने महासेठले ७१ मत प्राप्त गरे ।
अधिवेशनमा सहभागी नेताहरूका अनुसार नेतृत्व चयन सहमतिमै टुंग्याउने प्रयास भए पनि अन्ततः निर्वाचनमार्फत निर्णय गरिएको हो । महासेठलाई प्रतिनिधिसभा सदस्य मनिष झा निकट नेताका रूपमा हेरिने गरिन्छ ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै पार्टी कार्यकर्ता तथा समर्थकहरूले नवनिर्वाचित सभापति नायकलाई बधाई तथा शुभकामना दिएका छन् ।
विजयी भएपछि नायकले संगठनभित्रको एकतालाई बलियो बनाउँदै जनतासँगको सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अधिवेशनमा फरक मत राख्ने कार्यकर्तासमेत पार्टीका महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै सबैलाई समेटेर संगठन विस्तार गर्ने बताए ।
उनले जनकपुरधाममा रास्वपालाई प्रभावकारी र जनमुखी संगठनका रूपमा स्थापित गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताका एजेन्डालाई स्थानीय तहसम्म पुर्याउने लक्ष्य रहेको बताए ।
नायकले अधिवेशन सफल बनाउन योगदान पुर्याउने प्रतिनिधि, कार्यकर्ता तथा निर्वाचन प्रक्रियामा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनसरोकारका मुद्दा उठाउन र संगठन विस्तार अभियानलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

