सरकारी निर्देशन विपरीत नारायणी अस्पतालमा ९ कर्मचारी भर्ना, नियुक्तिमाथि प्रश्न

पर्सा, २३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कर्मचारी भर्ना नगर्न निर्देशन जारी गरिरहेको अवस्थामा नारायणी अस्पतालले दैनिक ज्यालादारीमा ९ जना कर्मचारी नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ ।
अस्पतालको प्रशासन शाखाको अभिलेखअनुसार गत वैशाख १५ गते विभिन्न प्राविधिक तथा सहायक पदमा कर्मचारी भर्ना गरिएको हो ।
अस्पतालले स्टाफ नर्स पाँचौँ तहमा अर्चना शर्मा, रिंकु चौरसिया, नेहा सर्राफ र पुष्पाकुमारी साहलाई नियुक्त गरेको छ । त्यस्तै, एनेस्थेसिया सहायकमा उमेशकुमार कुशवाहा, अजय साह र अर्जुन बैठा, अपरेसन सहायकमा अनिलकुमार पटेल तथा कार्यालय सहयोगीमा अनिताकुमारी तेलीलाई दैनिक ज्यालादारीमा काममा लगाइएको अभिलेखमा उल्लेख छ ।
सरकारले कर्मचारी व्यवस्थापन तथा खर्च नियन्त्रणका लागि नयाँ नियुक्तिमा रोक लगाएको अवस्थामा अस्पतालले नियुक्ति प्रक्रिया अघि बढाएको विषयले अस्पतालभित्रै चर्चा र विवाद निम्त्याएको छ । केही कर्मचारीहरूले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले आवश्यकताभन्दा बढी आफ्ना निकट व्यक्तिहरूलाई प्राथमिकता दिएर भर्ना गरेको आरोप लगाएका छन् ।
अस्पताल स्रोतका अनुसार अपरेसन सहायक पदमा नियुक्त भएका अनिलकुमार पटेल डा. साहसँग सम्बन्धित निजी स्वास्थ्य संस्था ‘सर्वोत्तम अस्पताल’ मा समेत कार्यरत छन् । स्रोतले पटेल नारायणी अस्पतालमा नियमित रूपमा उपस्थित नहुने र अधिकांश समय निजी अस्पतालमै काम गर्ने गरेको दाबी गरेको छ ।
यता, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. साहले भने नियुक्ति आवश्यकताका आधारमा गरिएको दाबी गरेका छन् । उनका अनुसार नियुक्त कर्मचारीहरूको पारिश्रमिक अस्पताल विकास समितिको स्रोतबाट नभई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट व्यवस्थापन गरिनेछ ।
तर, सरकारी निर्देशन जारी रहेकै अवस्थामा गरिएको नियुक्ति, कर्मचारी छनोटको प्रक्रिया, मापदण्ड तथा कार्यक्रमगत बजेटको प्रयोगबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् । अस्पताल प्रशासनको निर्णय पारदर्शी र नियमसम्मत भए नभएको विषयमा सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने माग समेत बढ्दै गएको छ ।

