परीक्षामा जफत गरिएका ५ सय मोबाइल नष्ट, अभिभावक भन्छन्– ‘हाम्रो महत्त्वपूर्ण विवरण पनि हरायो’

सिरहा, २३ जेठ । गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन नष्ट गरिएपछि अभिभावकहरूले ती फोनमा सुरक्षित रहेका महत्त्वपूर्ण कागजात, फोटो तथा सम्पर्क विवरण समेत गुमाउनुपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
अभिभावकहरूले परीक्षा सम्पन्न भएपछि मोबाइल फिर्ता गरिदिन वा कम्तीमा नष्ट नगर्न पटक पटक आग्रह गरे पनि प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइले सुनुवाइ नगरेको आरोप लगाएका छन् ।
उनीहरूको भनाइमा परीक्षा हलमा मोबाइल लैजान नपाउने कडा व्यवस्था मिलाइएको भए समस्या नै उत्पन्न हुने थिएन । तर, मोबाइल जफत गरेर सिधै नष्ट गर्नु गैरजिम्मेवार निर्णय हो ।
गोलबजारका अभिभावक तारकेश्वर यादवले मोबाइलमा सुरक्षित रहेको आफ्ना भान्जाको जन्मदर्ताको फोटो तथा पारिवारिक सम्झनासँग जोडिएका तस्बिरहरू समेत नष्ट भएको बताए ।
‘मूल कागजात हराएपछि मोबाइलमा राखिएको जन्मदर्ताको फोटो नै आधार थियो । अहिले पुनः कागजात बनाउन झन्झट बेहोर्नुपरेको छ,’ उनले भने । उनले विद्यालय प्रशासन र जिल्ला प्रशासन कार्यालयमा पुगेर मोबाइल फिर्ताको पहल गर्न खोजे पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
मोबाइल जफत भएकी एक विद्यार्थीले परीक्षा अवधिमा आफू मानसिक तनावमा परेको बताइन् । ‘मोबाइलमा आफन्तका धेरै नम्बर थिए । घरमा के हुन्छ भन्ने चिन्ता लाग्यो । केही दिन निकै तनाव भयो,’ उनले भनिन् ।
अर्का एक अभिभावकले परीक्षा हलमा चिटचोरी नगरेका विद्यार्थीहरूको मोबाइल समेत जफत गरी नष्ट गरिएको भन्दै आपत्ति जनाए । ‘गल्ती गरेको भए कारबाही स्वीकार्य हुन्थ्यो । तर, मोबाइल साथमा भएकै कारण फोन नष्ट गर्नु उचित होइन,’ उनले भने । उनका अनुसार मोबाइलमा रहेका परिवारका फोटो र भिडियोहरू पनि सँगै नष्ट भएका छन् ।
यस विषयमा लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले केही अभिभावकहरूले आफूलाई भेटेर मोबाइल फिर्ता गराउन पहल गरिदिन आग्रह गरेको जानकारी दिए । उनले भने, ‘मोबाइल जफत गर्ने वा नष्ट गर्ने विषय परीक्षा व्यवस्थापनसँग सम्बन्धित निर्णय हो । स्थानीय तहले प्रत्यक्ष रूपमा निर्णय गर्ने विषय होइन ।’
शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले परीक्षा केन्द्रभित्र मोबाइल लैजान नपाइने नियम स्वभाविक भए पनि जफत गरिएका मोबाइल नष्ट गर्नु कठोर र असान्दर्भिक कदम भएको टिप्पणी गरे । उनका अनुसार परीक्षा अनुशासन कायम गर्न अन्य वैकल्पिक उपाय अपनाउन सकिने अवस्था थियो ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका अनुसार गत वर्षको एसईई परीक्षामा जिल्लाबाट ११ हजार ३७ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये साधारणतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फ ४१२ विद्यार्थी रहेका थिए । इकाइका सूचना अधिकारी पुष्कर गैरपिप्लीका अनुसार नियमिततर्फ ६५.४४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
मोबाइल नष्ट गर्ने निर्णयपछि अभिभावक र विद्यार्थीहरूबीच असन्तुष्टि बढ्दै गएको छ भने जफत गरिएका सामग्री व्यवस्थापनबारे स्पष्ट र मानवीय नीति आवश्यक रहेको आवाज उठ्न थालेको छ ।

