चर्को गर्मीमा जलेश्वरवासीको सास्ती, अनियमित विद्युत् कटौतीले जनजीवन प्रभावित

महोत्तरी, २३ जेठ । महोत्तरीको सदरमुकाम जलेश्वरसहित आसपासका क्षेत्रमा अत्यधिक गर्मी बढिरहेका बेला अनियमित विद्युत् कटौतीले सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको छ ।
दिनहुँ पटक पटक विद्युत् आपूर्ति अवरुद्ध हुन थालेपछि स्थानीयवासीले जलेश्वर वितरण केन्द्रप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पछिल्ला केही सातादेखि जलेश्वर नगरपालिका तथा आसपासका बस्तीहरूमा बिना पूर्वसूचना लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुने क्रम बढेको उपभोक्ताहरूको गुनासो छ । अत्यधिक तापक्रमका कारण नागरिकहरू घरभित्र समेत बस्न कठिनाइ भइरहेको अवस्थामा विद्युत् कटौतीले समस्या झन् जटिल बनाएको उनीहरूको भनाइ छ ।
विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा दैनिक घरमै बस्नुपर्ने व्यक्तिहरू बढी प्रभावित भएका छन् । गर्मीबाट राहत पाउन पंखा, कुलर तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढिरहेका बेला पटक पटक बत्ती जाने समस्याले उनीहरूलाई सास्ती थपिएको छ ।
विद्युत् अवरुद्ध हुँदा खानेपानी वितरण प्रणाली, इन्टरनेट सेवा, शैक्षिक गतिविधि तथा दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित बन्न थालेका छन् । स्थानीय व्यवसायीहरूका अनुसार अनियमित विद्युत् आपूर्तिले व्यापार व्यवसाय सञ्चालनमा समेत प्रतिकूल असर पारेको छ । विशेषगरी कम्प्युटर, इन्टरनेट र विद्युतीय उपकरणमा आधारित व्यवसायले आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूको भनाइ छ ।
स्थानीयवासीहरूले वितरण केन्द्रले मर्मत सम्भार वा प्राविधिक समस्या भए त्यसबारे समयमै जानकारी नदिने गरेको आरोप लगाएका छन् । कुनै पूर्वसूचना बिना घण्टौंसम्म लाइन काटिँदा उपभोक्ताहरू अन्योलमा पर्ने गरेका छन् ।
‘गर्मीले रातदिन बस्नै कठिन भइरहेको छ । त्यसमाथि कहिले बत्ती जाने र कहिले आउने भन्ने टुंगो छैन,’ एक स्थानीयले गुनासो गर्दै भने, ‘समस्या के हो भन्ने जानकारीसमेत दिइँदैन ।’
साना उद्योग, सेवा प्रदायक संस्था तथा व्यापारिक प्रतिष्ठानहरूले समेत विद्युत् आपूर्ति नियमित नहुँदा उत्पादन र सेवा प्रवाह प्रभावित भएको बताएका छन् । बारम्बारको विद्युत् अवरोधले व्यवसाय सञ्चालन खर्च बढ्नुका साथै ग्राहक सेवा प्रभावित हुने गरेको उनीहरूको भनाइ छ ।
उपभोक्ताहरूले विद्युत् आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन, अनावश्यक कटौती नियन्त्रण गर्न तथा मर्मत वा प्राविधिक कामका कारण लाइन बन्द गर्नुपर्ने भए पूर्वसूचना जारी गर्न माग गरेका छन् ।
चर्को गर्मीका बेला भइरहेको लामो समयको विद्युत् अवरोधले जनस्वास्थ्य र दैनिक जीवनमा प्रत्यक्ष असर परेकाले सम्बन्धित निकायले तत्काल समस्या समाधान गर्नुपर्ने उनीहरूको जोड छ ।
गर्मीको तीव्रता बढ्दै जाँदा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान नभए सर्वसाधारणको दैनिकी थप कष्टकर बन्ने भन्दै स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

