सप्तरी, २२ जेठ । सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन् ।

जिल्लाको विष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकखण्डमा भारतमा दर्ता भएको बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना.२२ प ३२८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ना.२२ प ३२८५ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका–१२ सिंगियौन निवासी २३ वर्षीय छोटेलाल यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अर्का मोटरसाइकल चालक पनि घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।