जनकपुरधाम, २२ जेठ । मधेश केन्द्रित राजनीतिक दलहरूको प्रभाव कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै विभिन्न दलमा आबद्ध मधेशी युवाहरूले संयुक्त रूपमा ‘हुँकार मधेश’ नामक नयाँ अभियान सुरु गरेका छन् ।

अभियानमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टीका साथै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा सक्रिय युवाहरूको सहभागिता रहेको जनाइएको छ ।

अभियानलाई मधेशको अधिकार, पहिचान र राजनीतिक पुनर्जागरणको साझा मञ्चका रूपमा अगाडि बढाउने तयारी गरिएको छ ।

जसपा नेपाल परित्याग गरेका नेता रामकुमार शर्माले जेनजी आन्दोलनपछि परिवर्तनको पक्षमा उभिएका युवाहरूको सक्रियताबाट ‘हुँकार मधेश’ अभियानको जन्म भएको बताए । उनका अनुसार अभियान कुनै एक दल विशेषको नभई मधेशको भविष्य र राजनीतिक दिशाबारे बहस चलाउने साझा पहल हो ।

अभियानको आन्तरिक तयारी तीव्र गतिमा भइरहेको र प्रारम्भिक चरणका बैठकहरू सम्पन्न भइसकेको बताइएको छ । अभियानका रणनीतिक दस्तावेजहरू तयार पारिए पनि औपचारिक सार्वजनिक घोषणा नभएसम्म विस्तृत योजना गोप्य राखिएको बताइएको छ ।

‘हुँकार मधेश’ले अधिकार, पहिचान, संघर्ष, जागरण र परिवर्तनलाई आफ्नो मूल उद्देश्यका रूपमा अघि सारेको छ । अभियानका अभियन्ताहरूले मधेशका मुद्दालाई नयाँ ढंगले उठाउने तथा जनस्तरमा राजनीतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको बताएका छन् ।

स्रोतका अनुसार अभियानले धार्मिक स्वतन्त्रता, सनातन हिन्दुराष्ट्रको अवधारणा तथा मधेशको प्रशासनिक पुनर्संरचनासम्बन्धी विषयमा पनि बहस अगाडि बढाउने तयारी गरेको छ । विशेषगरी २२ जिल्लालाई समेट्ने गरी दुई प्रदेशको अवधारणालाई अभियानले आफ्नो प्रमुख राजनीतिक एजेन्डामध्ये एक बनाउने संकेत दिएको छ ।

अभियानको नेतृत्व युवा पुस्ताले नै गर्ने र शुरुवाती तीनदेखि चार महिनासम्म मधेशसहित देशका विभिन्न स्थानमा जनसम्पर्क तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । त्यसक्रममा प्राप्त सुझाव र जनमतका आधारमा अभियानको आगामी दिशा तय गरिने बताइएको छ ।

अभियानसँग आबद्ध नेताहरूका अनुसार अन्ततः नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सम्भावना रहे पनि तत्काल पार्टी गठनभन्दा जनमत निर्माण र नागरिकसँग संवादलाई प्राथमिकता दिइनेछ ।