जनकपुरधाम, २२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जनकपुरधाममा नवनिर्मित चारतारे होटल ‘पौवा’ तथा होटलद्वारा आयोजित ‘बृहत् खाना प्रदर्शनी–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले धार्मिक पर्यटनको अपार सम्भावनालाई उपयोग गर्न सरकार विभिन्न योजनासहित अघि बढिरहेको जानकारी दिए ।

उनले भारतको अयोध्यास्थित राम जन्मभूमिमा वार्षिक रूपमा करोडौं श्रद्धालु पुग्ने उल्लेख गर्दै तीमध्ये सानो हिस्सा मात्र जानकी जन्मभूमि जनकपुरधाममा आकर्षित गर्न सके यस क्षेत्रको पर्यटन तथा आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउने बताए ।

मुख्यमन्त्री यादवले जनकपुरधाम–अयोध्या सिधा हवाई सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै बुद्ध एअरले निकट भविष्यमै उडान सेवा सुरु गर्ने विश्वस गरिएको बताए । उक्त सेवा सञ्चालनमा आएपछि भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले चारतारे होटल पौवाको सञ्चालनले जनकपुरधामको पर्यटन पूर्वाधारलाई थप सुदृढ बनाउने बताए । उनले होटलले मिथिला कला, संस्कृति, परम्परा तथा स्थानीय परिकारको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

होटल पौवा सञ्चालक समितिका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटलका उपाध्यक्ष ध्रुवराज न्यौपानेले होटलले धार्मिक तथा सांस्कृतिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

होटल परिसरमा सुरु गरिएको बृहत् खाना प्रदर्शनीमा विभिन्न परम्परागत तथा आधुनिक परिकारहरू प्रदर्शन गरिएको छ । आयोजकका अनुसार प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ ।