मटकोरबा पोखरी डिल क्षेत्र फोहोरको चपेटामा, तत्काल सफाइको माग

जनकपुरधाम, २२ जेठ । जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमा लामो समयदेखि थुप्रिएको फोहोर समयमै व्यवस्थापन नभएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
विशेषगरी वडा नम्बर ४ अन्तर्गत आनन्दनगरका बासिन्दाले सडक किनार तथा सार्वजनिक स्थलमा थुप्रिएको फोहोरले वातावरण प्रदूषित बनाएको र जनस्वास्थ्यमा समेत असर पर्न थालेको गुनासो गरेका छन् ।
स्थानीयका अनुसार आनन्दनगरस्थित मटकोरबा पोखरीको डिल नजिकै थुपारिएको फोहोर एक सातादेखि उठाइएको छैन । यस्तै माधव सेवा समिति नजिक जम्मा गरिएको फोहोरसमेत करिब एक महिनादेखि यथावत् रहेको उनीहरूको भनाइ छ ।
फोहोर संकलनमा देखिएको ढिलासुस्तीका कारण आसपासको क्षेत्र दुर्गन्धित बन्दै गएको र स्थानीयलाई दैनिक आवतजावतमा समेत समस्या हुन थालेको बताइएको छ ।
स्थानीय युवा कौशल मिश्रले उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै फोहोर व्यवस्थापनमा देखिएको लापरबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
‘शहर सफा राख्ने जिम्मेवारी स्थानीय सरकारको हो । तर, मुख्य बस्ती र सार्वजनिक स्थलमै हप्तौँदेखि फोहोर थुप्रिँदा पनि सम्बन्धित निकाय मौन देखिन्छ,’ उनले भने, ‘गर्मी र वर्षायामको समयमा फोहोर थुप्रिँदा रोग संक्रमण फैलिने जोखिम झन् बढेको छ ।’
मिश्रका अनुसार फोहोर व्यवस्थापनमा नियमितता नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । उनले शहरको सौन्दर्य कायम राख्न तथा नागरिकको स्वास्थ्य सुरक्षाका लागि तत्काल फोहोर उठाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
स्थानीयवासीले पनि फोहोरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिनुका साथै झिँगा, लामखुट्टे र अन्य किराको प्रकोप बढेको बताएका छन् । उनीहरूले उपमहानगरपालिकाले नियमित सरसफाइ अभियान सञ्चालन गरी फोहोर संकलन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले शहरलाई स्वच्छ र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै आए पनि विभिन्न वडामा फोहोर व्यवस्थापनको समस्या दोहोरिन थालेपछि स्थानीय तहको कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ । नागरिकहरूले कर तिर्दा पनि आधारभूत सरसफाइ सेवामा समस्या देखिनु दुःखद भएको भन्दै सम्बन्धित निकायले तत्काल समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।
स्थानीयवासीको भनाइअनुसार वर्षायाम सुरु भइसकेको अवस्थामा फोहोर व्यवस्थापनमा ढिलाइ भए महामारीजन्य रोग फैलिन सक्ने जोखिम बढ्ने भएकाले उपमहानगरपालिकाले यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने देखिएको छ ।









