मुजेलियामा सार्वजनिक दलान निर्माण सुरु, वडा अध्यक्ष यादवद्वारा भूमिपूजन

जनकपुरधाम, २२ जेठ । जनकपुरधाम उपमहानगरपालिका–१४ अन्तर्गत मुजेलियामा सार्वजनिक दलान निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
वडा नं. १४ का अध्यक्ष पुण्यप्रताप यादवले शुक्रबार आयोजित एक कार्यक्रमबीच निर्माण कार्यको भूमिपूजन गरी योजनाको औपचारिक शुरुवात गरेका हुन् ।
भूमिपूजन कार्यक्रममा स्थानीय बासिन्दा, पूर्व जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले सार्वजनिक दलान निर्माणले स्थानीय समुदायका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधि सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
वडा अध्यक्ष यादवले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरूलाई निरन्तर अघि बढाइने बताए । उनले समुदायको सक्रिय सहभागिता र सहयोगबिनाको विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीयवासीप्रति आभार व्यक्त गरे ।
स्थानीयवासीका अनुसार सार्वजनिक दलान निर्माण सम्पन्न भएपछि विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रम सञ्चालनका लागि उपयुक्त स्थानको अभाव हट्नेछ । यसले समुदायबीचको आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

वडा कार्यालयले सार्वजनिक उपयोगिताका पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आगामी दिनमा समेत यस्ता योजनाहरूलाई निरन्तरता दिने जनाएको छ ।

