जनकपुरधाममा कांग्रेसको मधेश प्रदेश स्तरीय छलफल

जनकपुरधाम, २१ जेठ । नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएका राजनीतिक गतिविधि, समसामयिक विषयवस्तु तथा संगठनात्मक प्रश्नहरूलाई लिएर मधेश प्रदेश स्तरीय भेटघाट कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।
पूर्व केन्द्रीय सदस्यहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाबाट उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको आयोजकहरूले जनाएका छन् ।
कार्यक्रममा पार्टीको वर्तमान अवस्था, आन्तरिक समन्वय, संगठन विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता विमलेन्द्र निधिले पार्टीलाई समयानुकूल रूपमा सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । उनले कांग्रेसभित्रको एकता नै संगठनको मूल शक्ति भएको उल्लेख गर्दै आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली कांग्रेस जनताको भरोसामा स्थापित ऐतिहासिक पार्टी हो । यसलाई अझ बलियो बनाउन सबै तहका नेता कार्यकर्ताको सक्रियता र एकता आवश्यक छ,’निधिले भने ।
त्यस्तै, कार्यक्रममा अध्यक्षता गरेका आनन्द ढुंगानाले मधेश प्रदेशमा पार्टी संगठनलाई गतिशील बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्न तयारी अवस्थामा रहनुपर्ने बताए ।
उनले भने, ‘प्रदेशभरिका साथीहरूको उत्साहजनक उपस्थिति नै हाम्रो संगठनको आधार हो । अब हामीलाई छलफल मात्र नभई कार्यान्वयनमा जाने समय आएको छ ।’
बैठकले आगामी जेठ २८ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।
उक्त कार्यक्रमलाई संगठन विस्तार र राजनीतिक समन्वय सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
कार्यक्रममा सहभागी नेताहरूले मधेश प्रदेशमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउँदै जनसम्पर्क र संगठन विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।












