मन्त्री महतोद्वारा पर्सा र बाराका प्रशासनिक निकायको निरीक्षण

जनकपुरधाम, २१ जेठ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले पर्सा र बारा जिल्लाका विभिन्न न्यायिक तथा प्रशासनिक निकायहरूको स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री महतोले अदालत, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूको सेवा प्रवाह, न्याय सम्पादन प्रक्रिया, कार्यालय व्यवस्थापन तथा समग्र कार्यसम्पादन अवस्थाको विस्तृत अवलोकन गरेका थिए ।
उनले नागरिकलाई प्रदान गरिने सेवामा ढिलाइ नगरी छिटो, सहज र प्रभावकारी ढंगले सेवा दिनुपर्नेमा जोड दिँदै सेवा प्रवाहलाई थप पारदर्शी र जनमुखी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिए ।
मन्त्री महतोले विभिन्न निकायका प्रमुखहरूसँग छलफल गर्दै संस्थागत समन्वय मजबुत बनाउँदै कार्यसम्पादनमा देखिने समस्याहरूको तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।
अनुगमनका क्रममा बारा जिल्ला अदालतका मुख्य न्यायाधीश, पर्सास्थित उच्च अदालतका मुख्य न्यायाधीश तथा अन्य न्यायाधीशहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, रजिस्ट्रार तथा श्रेस्तेदारलगायत सम्बन्धित निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

