नेपाली कांग्रेस बाराका सभापति यादव निलम्बित

बारा, २१ जेठ । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सक्रिय भएको र अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई अन्तिम निर्णय नहुँदासम्मका लागि जिम्मेवारीबाट अलग गरिएको हो ।
पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बिहीबार बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले यादवलाई जिल्ला सभापतिको हैसियतमा कुनै पनि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको भन्दै यादवविरुद्ध उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुशासन समितिले उनलाई पहिलो पटक वैशाख ३० गते पाँच दिनको समय दिँदै स्पष्टीकरण माग गरेको थियो ।
तर, तोकिएको समयभित्र कुनै जवाफ नआएपछि जेठ १२ गते पुनः तीन दिनको समय दिइएकोमा पनि उनले स्पष्टीकरण नदिएको समितिले जनाएको छ ।
दुई पटकसम्म स्पष्टीकरण माग गर्दा समेत जवाफ नआएपछि थप छानबिन गरी अन्तिम निर्णयमा पुग्नुपर्ने निष्कर्ष निकाल्दै उनलाई तत्कालका लागि जिम्मेवारीबाट निलम्बन गरिएको कांग्रेसले जनाएको छ ।

