बारामा वृद्धको शव फेला

जनकपुरधाम, २१ जेठ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिक एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार बिहान स्थानीयले पुल आसपासको क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले शवको पहिचान गर्ने क्रममा मृतक अमलेखगञ्ज निवासी ८२ वर्षीय कृष्ण बल रहेको जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक निरीक्षण गरिएको छ भने शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
मृत्युको कारण भने हालसम्म खुल्न नसकेको र सबै कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।

