पर्सा, २१ जेठ । एक चर्चित नेपाली गायिकालाई लामो समयदेखि फोन तथा अन्य माध्यमबाट अनावश्यक रूपमा दुःख र हैरानी दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको देवताल गाउँपालिका–२ निवासी २२ वर्षीय अजय यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती गायिकाले आफूलाई लगातार विभिन्न फोन नम्बरबाट सम्पर्क गरी मानसिक तनाव र हैरानी दिइएको भन्दै काठमाडौंमा उजुरी दर्ता गराएकी थिइन् । सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा यादवले लामो समयदेखि विभिन्न मोबाइल नम्बर प्रयोग गरेर पटकपटक फोन गर्ने तथा अनावश्यक रूपमा सम्पर्क गरी हैरानी दिने गरेको खुलेको प्रहरीको दाबी छ ।

पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।