विद्यालयबाट घर फर्किंदै गरेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु

सर्लाही, २१ जेठ । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
दुर्घटनामा स्थानीय अर्जुन साहकी ५ वर्षीया छोरी अंकिताकुमारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले बालिकालाई ठक्कर दिएको थियो ।
विद्यालयबाट घर फर्किने क्रममा सडक पार गर्ने क्रममा उनी दुर्घटनामा परेकी थिइन् ।
ठक्करपछि बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनालगत्तै ट्याक्टर चालक बलरा नगरपालिका–६ निवासी १८ वर्षीय कृष्णकुमार साह फरार भएका छन् ।
प्रहरीले फरार चालकको खोजी तीव्र बनाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयवासीले विद्यालय समय आसपास सवारीसाधनको गति नियन्त्रण र बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

