सर्लाही, २१ जेठ । निजी विद्यालयको बक्यौता शुल्क सम्बन्धी विवादमा सोधपुछका लागि प्रहरी कार्यालय पुगेका एक अभिभावकमाथि कुटपिट भएको आरोप लागेको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको जनाएको छ ।

धनकौल गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय हरकठवामा स्थानीय फेकु दासमाथि प्रहरी जवानले कुटपिट गरेको आरोप परिवारजनले लगाएका छन् । कुटपिटबाट दासको हात, तिघ्रा र पिठ्युँमा चोट लागेको बताइएको छ ।

परिवारका अनुसार दासका दुई छोरा यसअघि स्थानीय साइनिङ स्टार एकेडेमीमा अध्ययनरत थिए । नयाँ शैक्षिक सत्रमा अन्य विद्यालयमा भर्ना गरिएपछि पुरानो विद्यालयले बाँकी रहेको भनिएको शुल्क असुलीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।

सोही विषयमा छलफल गर्न प्रहरी कार्यालयबाट बोलावट आएपछि दास पत्नीसहित हरकठवा पुगेका थिए ।

दासले आफूले विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको दाबी गर्दै कुनै थप कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि एक प्रहरी जवानले छुट्टै कोठामा लगेर बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप उनको छ ।

घटनापछि उनलाई उपचारका लागि बरहथवास्थित अस्पताल लगिएको थियो । परिवारले कुनै कानुनी प्रक्रिया पूरा नगरी शारीरिक यातना दिइएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

यता, इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक पदम खड्काले कार्यालयभित्र विवाद भएको स्वीकार गर्दै प्रहरी जवानले आत्मरक्षाका लागि लाठी प्रयोग गरेको बताएका छन् ।

उनका अनुसार दास र प्रहरीबीच भनाभन भएपछि स्थिति नियन्त्रणबाहिर जान थालेकाले बल प्रयोग गर्नुपरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले पनि दास मदिरा सेवन गरेर आएको र प्रहरीमाथि हातपातको प्रयास गरेपछि आत्मरक्षाका लागि लाठी प्रयोग गरिएको दाबी गरे ।

उनले कानुनअनुसार आवश्यक सीमाभित्र रहेर मात्र बल प्रयोग गरिएको बताए ।

यद्यपि, प्रहरी अझ संयमित हुनुपर्ने धारणा राख्दै एसपी पौडेलले घटनाको निष्पक्ष छानबिनका लागि डीएसपी वेदप्रसाद गौतमको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिए ।

छानबिनबाट प्रहरीको कमजोरी देखिए विभागीय कारबाही गरिने उनको भनाइ छ ।

उता, विद्यालय सञ्चालक सञ्जय साहले भने पटकपटक ताकेता गर्दा पनि बाँकी शुल्क नबुझाइएकाले प्रशासनसमक्ष लिखित उजुरी दिनुपरेको बताए ।