पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा तीन सांसदलाई कांग्रेसको चेतावनी

जनकपुरधाम, २१ जेठ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको आरोप लागेका मधेश प्रदेशका तीन जना प्रदेशसभा सदस्यलाई सचेत गराएको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य सकुन्तीदेवी महरा, कौशलकिशोर राय र जंगीलाल रायलाई अनुशासन उल्लंघनसम्बन्धी विषयमा सचेत गराउने निर्णय गरेको हो ।
पार्टी स्रोतका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग नगरी विपरीत गतिविधि गरेको आरोपमा उनीहरूविरुद्ध उजुरी परेको थियो ।
उजुरीमाथि प्रारम्भिक छानबिनपछि कांग्रेसले गत वैशाख २१ गते तीनै जनासँग स्पष्टीकरण मागेको थियो ।
सांसदहरूले लिखित स्पष्टीकरण बुझाएपछि केन्द्रीय अनुशासन समितिले उनीहरूलाई भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन चेतावनीसहित सचेत गराउने निर्णय गरेको जनाएको छ ।
कांग्रेसले पार्टीको नीति, विधि र अनुशासनविपरीत हुने कुनै पनि गतिविधिलाई गम्भीर रूपमा लिने भन्दै आगामी दिनमा पार्टीको आधिकारिक निर्णय र उम्मेदवारप्रति प्रतिबद्ध रहन सम्बन्धित नेताहरूलाई निर्देशनसमेत दिएको छ ।
पार्टीभित्र अनुशासन कायम राख्ने अभियानअन्तर्गत पछिल्लो समय कांग्रेसले विभिन्न तहका नेता तथा कार्यकर्तामाथि आएका उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउँदै आएको छ ।
मधेश प्रदेशका तीन सांसदलाई गरिएको यो कारबाहीलाई पनि सोही अभियानको निरन्तरताका रूपमा हेरिएको छ ।

