जनकपुरधाम, २१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम उपमहानगरपालिका अधिवेशन पार्टीभित्रै विवादको विषय बनेको छ ।

पार्टीको अनुशासन आयोगले विवादित स्थानका अधिवेशन स्थगित गर्न निर्देशन दिए पनि जनकपुरधाममा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि चुलिएको हो ।

रास्वपाको अनुशासन आयोगले जेठ १९ गते जारी गरेको निर्देशनमा विवाद देखिएका विभिन्न पालिकासहित जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशनसमेत स्थगित गर्न भनिएको थियो । तर, सोही दिन उपमहानगर समितिको नेतृत्व चयनका लागि मतदान गराइएको थियो ।

अधिवेशनमा २१ मत खसेको जनाइएको छ । वडा सभापतिहरूलाई मात्र प्रतिनिधि बनाएर गरिएको मतदानबाट ललन नायक १६ मतसहित सभापतिमा निर्वाचित भएको घोषणा गरिएको थियो । उनका प्रतिस्पर्धी जितेन्द्र महासेठले ५ मत प्राप्त गरेका थिए ।

तर, अधिवेशन प्रक्रिया पार्टी विधानविपरीत रहेको भन्दै महासेठसहित स्थानीय नेता कार्यकर्ताले आपत्ति जनाएका छन् ।

सभापतिका आकांक्षी महासेठले अधिवेशनका नाममा वडा सभापतिहरूलाई छलफलका लागि बोलाएर एकाएक मतदान गराइएको आरोप लगाए ।

उनले भने, ‘अधिवेशनका लागि आवश्यक सहमति र तयारी नै थिएन । विधि र विधानलाई बेवास्ता गर्दै नेतृत्व चयन गरिएको छ । यसलाई वैधानिक मान्न सकिँदैन ।’

रास्वपाको विधानअनुसार पालिका अधिवेशनमा सम्बन्धित पालिका समिति, वडा समितिका सदस्य, सल्लाहकार परिषद्, विभागीय प्रतिनिधि तथा जिल्ला, प्रदेश र केन्द्रीय समितिमा आबद्ध सम्बन्धित क्षेत्रका सदस्यहरू प्रतिनिधि रहने व्यवस्था छ । साथै सदस्य संख्या र समावेशिताको आधारमा थप प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधान पनि रहेको छ ।

तर, जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशनमा वडा सभापतिहरूलाई मात्र मतदाता बनाइएको भन्दै प्रक्रियामाथि प्रश्न उठेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका २५ वडामध्ये २१ वडाको अधिवेशन सम्पन्न भइसकेको छ । यद्यपि, पालिका अधिवेशनको वैधानिकताबारे पार्टीभित्रै विवाद बढेपछि निर्वाचन आयोगले घटनाबारे अध्ययन थालेको जनाएको छ ।

रास्वपाका निर्वाचन आयोग प्रमुख भुवन केसीले जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन विधानअनुसार भए/नभएको विषयमा आयोगले आवश्यक छानबिन गरिरहेको जानकारी दिएका छन् ।

पार्टीको आन्तरिक निर्देशन विपरीत सम्पन्न गरिएको अधिवेशनले जनकपुरधाममा रास्वपाको संगठनात्मक गतिविधिमाथि थप प्रश्न खडा गरेको छ भने आयोगको अध्ययनपछि यसको वैधानिकताबारे स्पष्ट हुने विश्वास गरिएको छ ।