सिरहा, २० जेठ । सिरहा प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी अवस्थामा राखिएको करिब १९ लाख ६० हजार रुपैयाँ बराबरको फर्सीको बिउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बरियारपट्टी गाउँपालिका–२ स्थित एक घरमा खानतलासी गर्दा ठूलो परिमाणमा फर्सीको बिउ फेला पारेको हो ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी गरिएको खोजतलासका क्रममा घरको प्यासेजमा लुकाएर राखिएको अवस्थामा ७० बोरा फर्सीको बिउ बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको प्रत्येक बोराको अनुमानित मूल्य २८ हजार रुपैयाँ रहेको छ । सोही आधारमा कुल मूल्य १९ लाख ६० हजार रुपैयाँ कायम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले बरामद गरिएको बिउ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइएको जानकारी दिए ।

सीमावर्ती क्षेत्र हुँदै हुने अवैध निकासी तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले निगरानी बढाएको जनाएको छ । पछिल्लो समय कृषि उपज तथा अन्य वस्तुको अवैध ओसारपसार रोक्न विशेष अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले यस्ता गैरकानुनी गतिविधिबारे जानकारी भए तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै तस्करी नियन्त्रणका लागि अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ ।