न्याय माग्दै मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ

जनकपुरधाम, १९ जेठ । मिटरब्याजबाट पीडित बनेका नागरिकहरूले न्यायको माग गर्दै मंगलबार धनुषा जिल्ला अदालत अगाडि धर्ना तथा घेराउ गरेका छन् ।
मिटरब्याज पीडित संघर्ष समितिको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा विभिन्न स्थानबाट आएका पीडितहरूको सहभागिता रहेको थियो ।
संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरू लामो समयदेखि न्यायको खोजीमा रहे पनि राज्यका निकायबाट समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको गुनासो गरे ।
उनीहरूले अदालत परिसर अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिँदै मिटरब्याज पीडितका मुद्दामा निष्पक्ष सुनुवाइ र न्याय सुनिश्चित गर्न माग गरेका हुन् ।
प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले वर्तमान सरकार सत्तामा पुग्नुअघि मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको आरोप लगाए । बरु पीडितमाथि उजुरी, दबाब र विभिन्न प्रकारका प्रताडना बढ्दै गएको उनको भनाइ थियो ।
मिटरब्याज पीडितहरूले विभिन्न सरकार र गृहमन्त्री परिवर्तन भए पनि आफ्नो समस्या जस्ताको तस्तै रहेको बताए । केही दिनअघि पनि उनीहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना कार्यक्रम आयोजना गरी समस्या समाधानको माग गरेका थिए ।

पीडितहरूले अदालत तथा सम्बन्धित निकायहरूबाट पीडितभन्दा साहु पक्षलाई बढी संरक्षण मिल्ने गरेको आरोप लगाएका छन् । निष्पक्ष न्याय नपाएको भन्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।
मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि सरकारले विभिन्न कानुनी तथा प्रशासनिक पहल गरेको दाबी गर्दै आए पनि पीडितहरू भने अझै न्यायको पर्खाइमा रहेको बताउँदै आन्दोलन जारी राख्ने तयारीमा छन् ।


