मनरा शिसवामा रास्वपा नगर अधिवेशनमा झडप, एक गम्भीर घाइते

महोत्तरी, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरीस्थित मनरा शिसवा नगरपालिकामा आयोजित नगर अधिवेशन नेतृत्व चयनको विवादका कारण तनावग्रस्त बनेको छ ।
नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया र वर्तमान नेतृत्वलाई निरन्तरता दिने विषयमा दुई पक्षबीच चर्किएको मतभेद अन्ततः झडपमा परिणत हुँदा एक जना कार्यकर्ता गम्भीर घाइते भएका छन् भने अन्य चार जना सामान्य घाइते भएका छन् ।
आइतबार आयोजित नगर अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर कार्यकर्ताबीच लामो समयदेखि देखिएको असन्तुष्टि सतहमा आएपछि कार्यक्रमको वातावरण तनावपूर्ण बनेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार अधिवेशनस्थलमै दुई पक्षबीच चर्काचर्की भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो । त्यसक्रममा हातहालाहालको अवस्था सिर्जना हुँदा मनरा शिसवा नगरपालिका–८ निवासी गोविन्द कापर घाइते भएका हुन् ।
झडपका क्रममा कापरको टाउकोमा चोट लागेको बताइएको छ । उनलाई तत्काल उपचारका लागि जलेश्वरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार उनको उपचार भइरहेको छ । अन्य चार जना कार्यकर्ताले सामान्य चोटपटक बोकेका छन् भने उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
रास्वपाले आगामी महाधिवेशनको तयारीस्वरूप देशभर नगर तथा स्थानीय तहका अधिवेशन सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत मनरा शिसवामा आयोजना गरिएको अधिवेशनमा नेतृत्व चयनको विषय विवादको मुख्य कारण बनेको बताइएको छ ।
अधिवेशनमा सहभागी एक समूहले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अडान लिएको थियो । उनीहरूले प्रतिस्पर्धात्मक निर्वाचनबाट नेतृत्व छनोट भए मात्र संगठन बलियो हुने तर्क राखेका थिए ।
अर्कोतर्फ, अर्को समूहले पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिँदै वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेको थियो ।
दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि विवाद बढ्दै गएको र अन्ततः झडपको स्थिति सिर्जना भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् ।
घाइते भएका गोविन्द कापरले वर्तमान नगर सभापति रोमन सिंहमाथि गम्भीर आरोप लगाएका छन् । उनका अनुसार वर्तमान नेतृत्व पक्षले पुनः नेतृत्वमा निरन्तरता कायम राख्न खोज्दै निर्वाचन प्रक्रिया अघि बढ्न नदिन दबाब सिर्जना गरेको थियो ।
कापरले निर्वाचनको माग उठाउने कार्यकर्ताहरूलाई विभिन्न किसिमका दबाब र अवरोध सिर्जना गरिएको दाबी गरेका छन् । उनले आफूहरूमाथि हातपात भएपछि झडपको अवस्था उत्पन्न भएको आरोप लगाएका छन् ।
यद्यपि, कापरले लगाएका आरोपबारे आधिकारिक प्रतिक्रिया लिन खोज्दा वर्तमान नगर सभापति रोमन सिंहसँग सम्पर्क हुन नसकेको बताइएको छ । उनको मोबाइल फोन सम्पर्कमा नआएको कारण घटनाबारे उनको धारणा प्राप्त हुन सकेन ।
झडपपछि अधिवेशनको सम्पूर्ण वातावरण प्रभावित भएको सहभागीहरूले बताएका छन् । कार्यक्रम सञ्चालनमा अवरोध पुगेको र नेतृत्व चयन प्रक्रिया समेत प्रभावित बनेको जनाइएको छ ।
स्थानीय स्तरका कार्यकर्ताहरूका अनुसार अधिवेशनअघि नै संगठनभित्र असन्तुष्टि बढ्दै गएको थियो । केही कार्यकर्ताले नेतृत्व चयन प्रक्रियामा पारदर्शिता र सहभागितामूलक अभ्यासको माग गरिरहेका थिए भने अर्को पक्षले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने पक्षमा दबाब दिइरहेको थियो। यही मतभेद झडपको प्रमुख कारण बनेको उनीहरूको भनाइ छ ।
महोत्तरीमा रास्वपाभित्र नेतृत्व चयनलाई लिएर विवाद देखिएको यो पहिलो घटना भने होइन । यसअघि जलेश्वर नगर अधिवेशन पनि नेतृत्व चयन प्रक्रियाकै विषयमा उत्पन्न विवादका कारण प्रभावित बनेको थियो ।
त्यसबेला समेत निर्वाचन गर्ने वा सहमतिबाट नेतृत्व चयन गर्ने विषयमा कार्यकर्ताहरूबीच मतभेद देखिएको थियो ।
लगातार दुई नगर अधिवेशनमा विवाद उत्पन्न भएपछि महोत्तरी जिल्लामा रास्वपाको संगठनात्मक अवस्थाबारे प्रश्न उठ्न थालेको छ ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पार्टी विस्तारसँगै नेतृत्वको आकांक्षा बढ्दा आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
रास्वपाले देशव्यापी रूपमा संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा आन्तरिक लोकतन्त्रको अभ्यासलाई प्राथमिकता दिइरहेको दाबी गर्दै आएको छ । तर, महोत्तरीमा नगर अधिवेशनकै क्रममा झडप, घाइते र कार्यक्रम अवरुद्ध हुने अवस्था सिर्जना भएपछि पार्टीको आन्तरिक व्यवस्थापन क्षमता र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठ्न थालेको छ ।
विशेषगरी महाधिवेशन नजिकिँदै जाँदा स्थानीय तहदेखि नै देखिएका विवादले पार्टी नेतृत्वलाई थप दबाबमा पारेको छ । संगठन विस्तारको अभियान चलाइरहेको अवस्थामा कार्यकर्ताबीचको गुटगत प्रतिस्पर्धा र नेतृत्व विवादलाई समयमै व्यवस्थापन गर्न नसके आगामी दिनमा यस्ता घटना थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।









