मधेशमा डीजे र ध्वनि प्रदूषणविरुद्ध कडा कदम

जनकपुरधाम, १७ जेठ । मधेश प्रदेश सरकारले सार्वजनिक स्थलमा बढ्दो डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्वमा बसेको सरोकारवाला निकायको बैठकले पर्सा, बारा लगायत प्रदेशका आठवटै जिल्लामा अत्यधिक आवाज निकाल्ने डीजे तथा ध्वनि उपकरणको प्रयोग नियन्त्रण गर्ने निर्णय गरेको हो ।
बैठकले ध्वनि प्रदूषण नियन्त्रणका लागि स्थानीय तहहरूसँग समन्वय गरी सुरक्षा निकायमार्फत निगरानी र नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले यस सम्बन्धमा प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी दिए ।
बैठकमा मधेश भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रको व्यवस्थित उपयोग, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण नियन्त्रण तथा जनकपुरधाम परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री–वितरण नियन्त्रणका विषयमा समेत महत्वपूर्ण निर्णय गरिएको छ ।
मधेश भवन परिसरको सुरक्षा अवस्था सुदृढ बनाउन १५ दिनभित्र विस्तृत सुरक्षा मानक सञ्चालन कार्यविधि (एसओपी) तयार गर्न समिति गठन गरिने भएको छ ।
साथै, भवन परिसरको दैनिक सरसफाइको जिम्मेवारी ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई दिने र नियमित अनुगमनको व्यवस्था मिलाइने निर्णय गरिएको छ ।
बैठकले मधेश भवनभित्र रहेको कर्मचारी आवास क्षेत्रमा बसोबास गरिरहेका अनाधिकृत व्यक्तिको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै निश्चित समयसीमाभित्र खाली गराउने निर्णय पनि गरेको छ ।
यस कार्यको समन्वय गृह मन्त्रालयअन्तर्गतको जिन्सी शाखा प्रमुखले सुरक्षा निकायसँग मिलेर गर्नेछन् ।
त्यसैगरी, गुठीका जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भएका जग्गा फेला परे कानुनी कारबाही अघि बढाउने तथा दीर्घकालीन संरक्षणका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई कार्ययोजना तयार गर्न निर्देशन दिइएको छ ।
फुटपाथ तथा सार्वजनिक स्थानमा भएका अनधिकृत संरचना हटाउन स्थानीय तहले सुरक्षा निकायको सहयोग मागे आवश्यक सहयोग उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ ।


