वीरगञ्ज नाकाबाट १० महिनामा ३१ अर्बभन्दा बढीका सवारीसाधन भित्रिए

पर्सा, १७ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार नाकामार्फत सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात उल्लेख्य रूपमा बढेको छ ।
यस अवधिमा रु ३१ अर्ब ३१ करोड बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएको तथ्यांकले देखाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष सवारीसाधन तथा पार्टपुर्जाको आयात रु ९ अर्ब ६५ करोडले बढेको हो ।
आयातमा भएको वृद्धिसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय सुधार देखिएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा सवारीसाधन तथा तिनका पार्टपुर्जाबाट मात्रै रु २० अर्ब ५२ करोड राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व सङ्कलन रु १६ अर्ब ६४ करोड रहेको थियो ।
तथ्यांकअनुसार यस अवधिमा रु एक अर्ब २५ करोड मूल्य बराबरका विभिन्न सवारीसाधन आयात हुँदा त्यसबाट रु तीन अर्ब १७ करोड राजस्व असुल गरिएको छ ।
त्यस्तै, रु सात अर्ब ३२ करोड मूल्य बराबरका ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयात गरिएको छ । ती मोटरसाइकलबाट मात्रै रु सात अर्बभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।
सवारीसाधनको बढ्दो माग, सहज आयात व्यवस्था तथा बजारमा देखिएको आर्थिक गतिविधिको विस्तारका कारण आयात र राजस्व दुवैमा वृद्धि भएको भन्सार अधिकारीहरूको भनाइ छ ।
वीरगञ्ज नाका मुलुककै प्रमुख व्यापारिक प्रवेशद्वार भएकाले सवारीसाधन आयातको ठूलो हिस्सा यही नाकाबाट हुने गरेको छ ।


