जनकपुरधाम, १६ जेठ । सङ्घीय सरकारले माता सीताको जन्मभूमि तथा मधेश प्रदेशको राजधानी जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरको विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन) का रूपमा विकास गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई केन्द्रमा राखेर यस्तो घोषणा गरेका हुन् ।

बजेट वक्तव्यमा रामजानकी पथ तथा रामजानकी परिक्रमा मार्गको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ ।

जनकपुरधामलाई रामसीताको पौराणिक विवाहसँग जोडिएको विश्वप्रसिद्ध धार्मिक स्थलका रूपमा प्रवर्द्धन गर्दै विवाह पर्यटनको केन्द्र बनाउने सरकारको लक्ष्य रहेको छ ।

त्यसैगरी, मधेश प्रदेशको विकासलाई प्राथमिकतामा राख्दै हुलाकी राजमार्ग, रेल्वे पूर्वाधार, पूर्वपश्चिम राजमार्गको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पोषण कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ ।

सरकारको घोषणाप्रति स्थानीय व्यवसायी तथा सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने योजनाले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।

उनले यसबाट होटल, पर्यटन, यातायात लगायतका क्षेत्रमा नयाँ रोजगारीका अवसर सिर्जना हुने बताए ।

भण्डारीले बजेटमार्फत केही करका दरमा गरिएको सहुलियतले उद्योगी तथा व्यवसायीलाई राहत पुग्ने उल्लेख गर्दै यसले आर्थिक गतिविधि विस्तारमा सहयोग गर्ने धारणा व्यक्त गरे ।

जनकपुरधामलाई विवाह पर्यटनको केन्द्रका रूपमा विकास गर्ने सङ्घीय सरकारको घोषणाले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ ।