जनकपुरधामको मुहार फेर्न १ अर्ब ६५ करोडको विकास अभियान सुरु

जनकपुरधाम, १६ जेठ । वर्षौंदेखि जीर्ण सडक, अव्यवस्थित नाला, फुटपाथको अभाव तथा वर्षायाममा हुने समस्याले ग्रस्त जनकपुरधामलाई आधुनिक र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले ठूलो पूर्वाधार निर्माण अभियान अघि बढाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको पहल तथा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित अर्बन रेजिलियन्स एण्ड लिभेबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (यूआरएलआईपी) अन्तर्गत १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी लागतको सडक, नाला, फुटपाथ तथा सडक सौन्दर्यीकरण सम्बन्धी निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो ।
उपमहानगरपालिकाका अनुसार यो परियोजनाले जनकपुरधामको शहरी पूर्वाधार सुधारमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ । परियोजना अन्तर्गत विभिन्न मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति, व्यवस्थित ढल तथा ड्रेनेज प्रणाली निर्माण, आधुनिक फुटपाथ, सडक सुरक्षासम्बन्धी संरचना तथा रोड फर्निचर जडान गरिनेछ ।
परियोजनाका लागि अन्तर्राष्ट्रिय स्तरका निर्माण कम्पनीहरूलाई सहभागी हुन आह्वान गरिएको छ । बोलपत्रमा सहभागी कम्पनीको न्यूनतम वार्षिक कारोबार ९.४१७ मिलियन अमेरिकी डलर हुनुपर्ने, पर्याप्त वित्तीय क्षमता तथा यस्तै प्रकृतिका ठूला पूर्वाधार परियोजना सम्पन्न गरेको अनुभव हुनुपर्ने मापदण्ड राखिएको छ ।
साथै ०.१८८ मिलियन अमेरिकी डलर बराबरको बिड सेक्युरिटी अनिवार्य गरिएको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति आगामी ७ जुलाई २०२६ तोकिएको छ ।
छिट्टै थप ५० करोडको टेन्डर
उपमहानगरपालिकाका स्रोतका अनुसार हाल आह्वान गरिएको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको टेन्डरपछि करिब ५० करोड रुपैयाँ बराबरको अर्को पूर्वाधार निर्माण प्याकेजको टेन्डर पनि चाँडै प्रकाशित गरिने तयारी भइरहेको छ ।
यससँगै जनकपुरधाममा पूर्वाधार विकासका लागि दुई अर्ब रुपैयाँभन्दा बढीको लगानी भित्रिने देखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले यो परियोजना जनकपुरधामको दीर्घकालीन विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् ।
उनले भने, ‘जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अन्तर्राष्ट्रिय महत्व बोकेको शहर हो । तर, पूर्वाधारको दृष्टिले अझै धेरै चुनौतीहरू छन् । वर्षौंदेखिको भत्किएका सडक, पैदल यात्रुका लागि सुरक्षित फुटपाथको अभाव र अव्यवस्थित नालाको समस्यालाई समाधान गर्न हामीले निरन्तर पहल गर्दै आएका थियौं । त्यसैको परिणामस्वरूप आज यो महत्वपूर्ण परियोजना कार्यान्वयनको चरणमा पुगेको हो ।’
मेयर साहका अनुसार परियोजनाको मुख्य उद्देश्य सडक निर्माण गर्नु मात्र नभई सम्पूर्ण शहरी व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । ‘हामी जनकपुरलाई सुन्दर मात्र नभई बस्न योग्य, सुरक्षित र दिगो शहरका रूपमा विकास गर्न चाहन्छौं । सडकसँगै प्रभावकारी ड्रेनेज प्रणाली, पैदल यात्रुको सुविधा, सडक सुरक्षा र शहरी सौन्दर्यीकरणलाई समान महत्व दिइएको छ,’उनले भने ।
उनले परियोजनाको कार्यान्वयनमा पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिइने स्पष्ट पारे । ‘जनताको कर र अन्तर्राष्ट्रिय साझेदारको लगानीबाट बन्ने संरचनामा कुनै प्रकारको सम्झौता हुँदैन । गुणस्तरहीन काम, अनावश्यक ढिलाइ वा अनियमितता भएमा कडा निगरानी गरिनेछ,’मेयर साहले भने ।
पुरानो समस्याको समाधान हुने अपेक्षा
जनकपुरधामका अधिकांश सडक वर्षायाममा हिलाम्य बन्ने, साना वर्षामा समेत सडकमा पानी जम्ने तथा पैदल यात्रुहरूले सुरक्षित रूपमा हिँड्न नसक्ने समस्या लामो समयदेखि रहँदै आएको छ ।
विशेषगरी मुख्य बजार क्षेत्र, धार्मिक स्थल आसपास तथा घना बस्ती भएका वडाहरूमा व्यवस्थित नाला र फुटपाथको अभावले सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएका छन् ।
स्थानीयवासीका अनुसार यदि परियोजना प्रभावकारी रूपमा सम्पन्न भयो भने जनकपुरधामको यातायात व्यवस्था, सरसफाइ, व्यापारिक गतिविधि तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्नेछ ।
धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा रहेको जनकपुरधाममा आधुनिक शहरी पूर्वाधार निर्माण हुँदा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास गरिएको छ ।
चुनौती पनि उत्तिकै
यद्यपि, विगतमा भएका केही विकास निर्माणका कामहरू समयमै सम्पन्न नहुने, गुणस्तरमाथि प्रश्न उठ्ने तथा राजनीतिक प्रभावका कारण विवादित बन्ने गरेका उदाहरणहरूका कारण स्थानीय स्तरमा यस परियोजनाप्रति चासोसँगै सतर्कता पनि देखिएको छ ।
शहरी विकासका जानकारहरूका अनुसार यस्ता ठूला परियोजनाको सफलता बजेटको आकारले मात्र निर्धारण गर्दैन । निर्माण गुणस्तर, समयसीमा पालन, प्रभावकारी अनुगमन, प्राविधिक मापदण्डको पालना तथा जनप्रतिनिधि र सरोकारवालाबीचको समन्वयले मात्र अपेक्षित परिणाम दिन सक्छ ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको जनकपुरधामलाई आधुनिक शहरी पूर्वाधारयुक्त शहरका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाइएको यो परियोजना अहिले जनकपुरवासीका लागि आशाको केन्द्र बनेको छ ।
एकातर्फ विकासको नयाँ सम्भावना देखिएको छ भने अर्कोतर्फ पारदर्शी र गुणस्तरीय कार्यान्वयनको चुनौती पनि उत्तिकै ठूलो छ ।
यदि निर्धारित मापदण्डअनुसार निर्माण सम्पन्न भयो भने जनकपुरधामले आगामी केही वर्षमै सडक, नाला, फुटपाथ तथा शहरी व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय परिवर्तन देख्न सक्नेछ ।
उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सुरु गरेको यो पहललाई जनकपुरधामको दीर्घकालीन विकास यात्राको महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ ।


